थिङगरबासी सामुहिक आलु खेतीमा

Gandaki Ghumau

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामुहिक रुपमा व्यवसायिक आलु खेती गरेका छन् ।

लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका हुन् । समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघि देखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामुहिक रुपमा व्यवसायिक आलु खेती गरेको जानकारी दिनुभयो ।

“१३ जनाको समूहमा बाँझो जग्गा खनजोत गरेर स्थानीय जातको आलु खेती गरेका छौ,” उहाँले भन्नुभयो “कामको खोजीमा विदेश नगई यही आलु खेतीलाई निरन्तरता दिने योजनामा छौ ।” गत जेठको पहिलो हप्ता लगाएको आलु खनेर भित्र्याउने चटारो छ ।

Shreekrishna
Gunasthariya Shiksya

२० रोपनी जमिनबाट रु. पाँच लाख ६२ हजार ५०० मूल्य बराबरको ११ हजार २५० किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ । लोमान्थाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौको बजारमा आलु खपत हुने गरेको छ । प्रतिकिलो रु. ५० का दरले बारीबाटै आलु बिक्री भएको छ ।

चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोग बिना उत्पादन भएको आलुले राम्रो बजार पाएकाले आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको समूहका सदस्य राजु गुरुङले बताउनुभयो । “रासायनिक मल र विषादीको प्रयोग बिना चिसो हावापानीमा प्राङगारिक प्रबिधिबाट आलु खेती गरेका छौ,” उहाँले भन्नुभयो “स्वादिष्ट, स्वस्थ्य र गुणस्तरीय भएकाले आलुले राम्रो बजार पाएको छ ।”

थिङगरमा आलु खेतीका लागि लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा रु. बीस लाख अनुदान उपलब्ध गराएको थियो । समूहले थप रु. बीस लाख लगानी गरेका छन् । अध्यक्ष गुरुङले गाउँपालिकाको अनुदानमा विउ, मल खरिद र खनजोत गरिएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले सिचाईका लागि नहर बनाउन गत आर्थिक वर्षमा रु. दुई लाख सहयोग गरेको थियो । बाँझो जमिनको सदुपयोग, आयात घटाएर आलुमा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धिका लागि सामुहिक आलु खेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...