बेनी, । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले जनतासंग माओवादी विशेष रुपान्तरण तीन महिने अभियानको कार्ययोजना बनाएको छ ।
बेनीको महारानीथानमा रहेको माओवादीको पार्टी कार्यालयमा आइतबार बसेको नगर समितिको बिस्तारित बैठकले कार्ययोजना निर्माण र वडामा खटिने नेताहरुको जिम्मेवारी तोकेको हो ।
भदौ १६ गतेदेखि देशभर एकैसाथ सुरु हुने अभियानलाई पालिकाको सबै वडाहरुमा प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गर्दै जिम्मेवारी वाँडफाँड गरेको हो । माओवादीले केन्द्रिय सदस्य गुप्तबहादुर हमाललाई म्याग्दी जिल्लाको ईञ्चार्ज र बेनी नगरपालिकामा अभियानको संयोजकका जिम्मेवारी दिएको छ ।
वडानम्वर १ मा नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, २ मा पदम पुन, ३ मा ज्योती लामिछाने, ४ मा कुशल पौडेल, ५ मा नगेन्द्र केसी र पदम किसान, ६ मा विनोद केसी, ७ मा लक्ष्मण शर्मा, ८ मा अम्विका ढुङ्गाना ९ मा ज्ञानेन्द्र सुवेदी र १० मा सन्दिप खत्रीलाई जिम्मेवारी तोकिएको छ ।
बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज हमालले पार्टीलाई बलियो बनाउन यस अभियानले सहयोग पुग्ने बताउदै सरकारले गरेका राम्रा कामको प्रचार–प्रसार जनताको घरघरमा पुगेर गर्नुपर्ने बताउनुभयो ।
म्याग्दीका ४५ वटै वडामा अभियान अन्तरगत बैठक, भेला, प्रशिक्षण, अन्तरक्रिया र जनताको गुनाँसो सुन्ने कार्यक्रमहरु गरिने बताउनुभयो । गण्डकी प्रदेश सचिवालय सदस्य एवम् प्रदेश सभा क्षेत्र (क) का इन्चार्ज एवम् निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले माओवादी नेतृत्वको वर्तमान गठबन्धन सरकारले विकास, समृद्धि र शुसासनको क्षेत्रमा गरेका पहलकदमीले जनतामा सकरात्मक सन्देश दिएको बताउनुभयो ।
उहाँले तीन महिने अभियानको क्रममा पार्टी संगठन निर्माण संगै जनताको समस्या, गुनासाहरुको समेत संकलन गर्ने र पार्टीको नेतृत्व र सरकारलाई सम्बोधनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले तीन महिने अभियानलाई जनताका समस्याहरुको पहिचान, योजनाहरुको प्राथमिकीकरण र पार्टी संगठनको पुननिर्माणमा केन्द्रित गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश सदस्य एवम् बेनी नगरपालिकाकी उपमेयर ज्योती लामिछानेले नगरका सबै वडा र बस्तीस्तरमा पुगेर जनताको समस्या, गुनासाँ अनुसार आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
माओवादीका प्रदेश सदस्य पदम पुन, प्रदेश सभा क्षेत्र (क) का संयोजक कुशल पौडेल, लक्ष्मण शर्मा लगायत नेताहरुको उपस्थित रहेको कार्यक्रममा नगरभित्रका वडामा पार्टीको अवस्थाबारे वडाका प्रतिनिधिहरुले बैठकमा जानकारी गराउनुभएको थियो ।
नगर अध्यक्ष केसीले अभियान अन्तरगत वडास्तरमा हुने बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहभागि हुन नगरका कार्यकर्तालाई आग्रह गर्नुभयो । बैठकको संचालन माओवादीका नगर कमिटि सदस्य किसान विश्वकर्माले गर्नुभएको थियो ।