बेनी, ः म्याग्दीको बेनी अस्पतालले मानसिक रोग उपचार सेवा शुरु गरेको छ ।
जिल्लाकै सरकारी अस्पतालमा मानसिक रोगको उपचार सम्बन्धी सेवा पाउन थालेपछि म्याग्दी र वरपरका छिमेकी जिल्लाका सर्वसाधारणलाई राहत मिलेको छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले पछिल्लो पटक मानसिक रोगको औषधी उपचार सम्बन्धी सेवा शुरु गरिएको जानकारी दिनुभयो ।
“यसअघि म्याग्दीका मानसिक रोग सम्बन्धी समस्या भएका बिरामीहरु पोखरा जानुपर्ने र निजी किल्नीकमा आउने डाक्टर पर्खनुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो “बेनी अस्पतालले सेवा शुरु गरेपछि मानसिक रोगीको समस्या समयमै पहिचान र उपचारमा पहुँच बढेको छ ।”
यसअघि लिड संस्थाले म्याग्दीका मानसिक रोग सम्बन्धी समस्या भएकाहरुलाई घुम्ति शिविर मार्फत परामर्श, स्वास्थ्य परिक्षण र औषधी वितरण गर्दै आएको थियो । अध्यक्ष सुवेदीका अनुसार घुम्ति शिविर मार्फत करिब ३०० जनाले नियमित सेवा लिईरहेका थिए ।
प्रदेश सरकारले म्याग्दीमा मानसिक रोग विशेषज्ञ अनुषा मानन्धरलाई पठाएको छ । डिप्रेशन, एन्जाइटी, निद्रा नलाग्ने, डर लाग्ने, मनमा नकारात्मक कुरा खेल्ने, धेरै तनाव महशुस गर्ने लगायत समस्या भएका बिरामी धेरै आउने गरेको डाक्टर मानन्धरले बताउनुभयो ।
अस्वथ्य खानपान र जिवनशैलीका कारण बढ्दो मानसिक रोग सम्बन्धी समस्या न्युनीकरणका लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने चिकित्कस मानन्धरको भनाई थियो । बहिरंग विभागमा मानसिक रोग सम्बन्धी सेवा थप भएको छ ।
म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने ५० शैया क्षमताको बेनी अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गरेको छ । गत बैशाख महिनादेखि फिजियोथेरापी सेवा सञ्चालन गरेको थियो ।
एक वर्षयता जेष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड), अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा इकाईको सेवा थप गरेको छ । अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रिया मार्फत प्रसुति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ ।
मृगौला रोग सम्बन्धी समस्या भएका १९ जनाले डायलाइसीस सेवा लिएका छन् । ५० शैया क्षमताको अस्पतालले १५ शैयाकै संरचना र पूर्वाधारबाट ७६ शैयाको सेवा दिएको छ ।