हरिप्रसाद पौडेल,
बच्चा जन्मेपछि कति बांच्ने हुन भन्ने कुनै ठेगान नहुने, परिवार नियोजनको कुनै जानकारी नराख्ने साथै मनोरञ्जनको एउटा उपायको रुपमा बुझ्ने भएकोले होला भन्ने लाग्छ आजभोलि सम्झँदा, एकैजना आमाले आफ्नो जिवनकालमा १३/१४ जना बच्चाबच्ची जन्माउने गरेको देखिन्थ्यो। तत्कालीन समयमा आमाहरुले कति घांसदाउरा गर्न जांदा उतै जन्मिए, कति १०दिन सम्मको सुत्केरी बेथा पछि जन्मिए, कति बच्चा जन्मेर मरे कति नजन्मदै गए, कति पटक मरेर बाचियो कति जना जन्माउन नसकेर मरे भनेका कुरा बियोगान्त कथामा बनाईएका सिनेमा हुन जस्तो लाग्छ। ।
प्रसंग जोड्न खोजेको कुरा हो म्याग्दी जिल्लामा सुरक्षित सुत्केरी केन्द्र “बर्थिङ सेण्टर” को। २०६४ साल अगाडिसम्म सुत्केरी हुन/गराउन स्वास्थ्य संस्थामा जानुपर्छ/लानुपर्छ भन्नेकुराको ज्ञान कसैलाई थिएन, समुदायमा यो कुरा गर्दा माथि भनिए बमोजिमका कुराहरु गर्नुहुन्थ्यो आमाहरु। तर आमासमुह निर्माण गर्दै समुहमा यस्का जटिलताहरु बारे जानाकारी गराउदै गर्दा स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने सम्म हुन थाल्यो त्यस समयमा सरकारी तथ्याङ्क लाई हेर्ने हो भने प्रति एकलाख गर्भवती आमा सुत्केरी हुने बेला ५३९ आमाको ज्यान जान्थ्यो भने २८१ जना नव शिशुको मृत्यु हुन्थ्यो। तथ्याङ्क मा आउन नसकेको त कति थियो थियो?? तर विडम्बना म्याग्दी जिल्लामा सुरक्षित सुत्केरी केन्द्र म्याग्दी जिल्ला अस्पतालमा मात्रै थियो यहाँ आईपुग्न बिभिन्न कठिनाइ थिए। पहिलो त पारिवारिक सोंचनै थिएन त्यसमा बाटोघाटोको समस्या, आर्थिक जोहो गर्नै समस्या यि आदि कारणले अलिक टाढा बाट सुत्केरी गराउन जिल्ला अस्पताल सम्म आईपुग्ने कुरा एकादेशको कथा नै हुने अवस्था रह्यो।
समुदाय स्तरबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्ने रहेछ भन्ने सम्म चेतना जागृत हुन थाल्यो तर सेवा प्रवाह गर्ने संस्थासम्म पुग्न नसक्ने स्थिति टड्कारो देखिसकेपछि हामिले खासगरी एक्सन एड नेपाल सुरक्षित मातृत्व समता र पहुँच कार्यक्रमका जिल्ला संयोजक थमकुमारी कुँवर र मैले सल्लाह गरी यस्ता केन्द्र समुदायकै सहयोगमा हल सञ्चालनमा रहेका स्वास्थ्य चौकी तथा उपस्वास्थ्यचौकी सरु बाट नै प्रबाह गर्नुपर्छ भन्ने एकिन गर्यौं र समुदायका स्वास्थ्य संस्था सञ्चालन ब्यवस्थापन जिम्मेवार निकाय जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दि र अन्य सरोकारवाला निकायहरू जिल्ला विकास समिति, महिला विकास कार्यालय आदि संग छलफल गरी समुदाय स्तरमा बर्थिङ सेण्टर सञ्चालन गर्न जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समिति बाट स्विकृति लियौं।
जिल्लाको दोस्रो ठूलो बजार क्षेत्र, जिल्लाको पश्चिमि ठूलो भुभाग समेटिने र बाग्लुङ्ग का समेत लाई सेवा प्रवाह गर्न सक्ने साथै एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र रहेको हुंदा दर्वाङ प्राथमिक स्वास्थ्य केन्द्र लाई बर्थिङ सेण्टरमा बिकास गर्ने लक्ष सहित काम अगाडि बढाउँदा स्थानीय स्तरबाट सोचे अनुरूप सहयोग प्राप्त हुन सकेन कारण थियो त्याहाँ का स्थानिय त्याहाँ बसोबास नगर्ने र बाहिर बाट आएर ब्यवसाय गरेर बसेकाहरुले जिम्मेवारी लिन नखोज्ने। दुई तिन पटक को प्रयास खासै उपलब्धि मुलक नदेखिएपछि जिल्लाको सबैभन्दा दुर्गम भेग समेट्ने स्वास्थ्य चौकी ताकम स्वास्थ्य चौकी लाई बर्थिङ सेण्टरमा बिकास गर्ने गरि अगाडी बढ्यौं। डाक्टर लाल बहादुर मल्ल र जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले सकारात्मक सहकार्य गरेर हामीलाई हौसला प्रदान गर्नुभयो। समता र पहुँच कार्यक्रमको सहयोगमा कदम म्याग्दीको आयोजनामा सकरात्मक खोज तालिम सहजकर्ता नरबहादुर कार्कीको प्रशिक्षणमा त्यस क्षेत्रका आमा समुह, शिक्षक, रेडक्रस, स्वास्थ्य ब्यवस्थापन समिति, यूवा क्लव, सामुदायिक वन उपभोक्ता समिती, धार्मिक समुह लगायतका समुदायमा रहैका सबैको प्रतिनिधित्व रहने गरी बर्थिङ सेण्टर सञ्चालन का उध्यस्य र आवश्यकता बारे गहिरो बुझाई गराउन सफल भयौं। यस प्रशिक्षणले अत्यन्त राम्रो र उपलब्धि मुलक कार्य के भयो भने सबै तालिमहरुमा भत्ता बुझ्ने जाने परम्परा रहेकोमा त्याहाँ सहभागीहरुले आफुले पाएको सहभागी भत्तमा आफ्नो क्षमता अनुसार को रकम थप गरेर तिन दिने सोही तालिमको अन्तिम दिनमा करिब ७५०००/- रुपैयाँ बराबर कोष संकलन भयो।
यसैको जगमा एक वर्षको लागि स्थानिय स्तरमा एकजना अनमि भर्ना गर्ने र आवश्यक सामग्रीहरु परियोजना बाट ब्यवस्था गर्ने गरी कार्ययोजना बनाएर स्वास्थ्य ब्यवस्थापन समिति र स्वास्थ्य चौकी इन्चार्ज लोकनाथ पौडेललाई जिम्मा दिईयो वहाँहरु समेत उत्साहित बन्नुभयो। यस कार्य योजनालाई सफल बनाउन हामीले निरन्तर फलोअप र आवश्यक उपकरण प्रदान गर्ने हाम्रो जिम्मेवारी पुरा गर्यौ फलस्वरूप म्याग्दी जिल्लाको पहिलो बर्थिङ सेण्टर स्थापना गरियो। यसलाई स्विकति प्रदान गराउन जिल्ला अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हुंदा स्विकति पाउन सजिलो भयो ।
सेवा प्रवाह बाट विस्तारै मिल्दै गएको आत्मसन्तुष्टि ले हामिलाई अन्यत्र स्वास्थ्य संस्थामा यस्तै काम गर्ने हौसला थपियो, फल स्वरूप कदम म्याग्दीको अगुवाइमा विभिन्न परियोजनाहरूको सहयोगमा पहिलो चरणमा जिल्लाका अय स्वास्थ्य संस्थाहरुमा स्थानीयको अपनत्व जागृत गराउदैं बर्थिङ सेण्टर सञ्चालन गर्ने अभियान सुरु गरियो। स्वास्थ्य चौकी मा सञ्चालन गरेर जानाकारी गराए हुने तर उपस्वास्थ्य चौकीमा पहिले अनुमति लिएर मात्र सञ्चालन गर्न पाईने भएकोले भकिम्ली उपस्वास्थ्य चौकी मा पहिलो अनुभति पाएर बर्थिङ सेण्टर सञ्चालन गरिएको थियो।
यसरी जिल्लाका सबै ४१ वटै स्वास्थ्य संस्थामा बर्थिङ सेण्टर सञ्चालन भएको हो र यस मध्य २४ वटा संस्थाको निर्णय म मेरै हातले गरेको रेकर्ड अहिले पनि कदम म्याग्दीको कार्यालयमा सुरक्षित छ।
जिल्लामा पहिलो बर्थिङ सेण्टरको रुपमा सेवा सुरु गरेको ताकम स्वास्थ्य चौकीको सेवा क्षेत्र ताकम गाविस नेपालको दोस्रो होम डेलिभरी फ्रि ( सबै गर्भवती लाई स्वास्थ्य संस्थामा नै सुत्केरी सेवा दिने संस्था) गाविस घोषणा हुन सफल भयो, यस्को श्रेय माहिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य का कर्मचारी स्वास्थ्य ब्यवस्थापन समिति र आमा समुहलाई दिनुपर्छ। यसैगरी अन्य स्वास्थ्य संस्थामा विस्तार गरिएको बर्थिङ सेण्टर को सुविधा ले सबैजसो सेवाग्राही ले स्थानिय स्वास्थ्य संस्थामा सेवा लिने अवसर प्राप्त गरे, अव सेवा प्रवाह चुस्त बनाउन चौतर्फी दवाव सृजना भयो राज्यले नीतिगत ब्यवस्था गर्ने थप सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने गर्न थाल्यो।
सुत्केरी बेथा लागेको सकेसम्म कसैलाई थाहा दिन हुन्न, २/३ दिन सम्म भएन भने बल्ल गाउंका अलि विश्वास लाग्ने सुडेनी सुविधा दिन सक्ने जानाकारहरु लाई भन्नुपर्छ भन्ने मानसिकता बाट समुदाय बिस्तारै बाहिर निस्कन थाल्यो, नियमित गर्भ जांच, कम्तिमा एक पटक भिडियो एक्सरे र बर्थिङ सेण्टरमा सुरक्षित सुत्केरी सेवा लिने आमा हरुको बढोत्तरी हुन थाल्यो। गर्भवती प्रसुती र सुत्केरी अवस्थामा परिवारले सहयोग पुर्याउनुपर्छ भन्ने सोंचको बिकास भयो। हिजोका ति दिनमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने न्युन हुन्थे भने यो डेढ दशकको अन्तरालमा घरमा सुत्केरी हुने संख्या शुन्य प्राय बनेको छ।
हाल सेवा प्रवाह गुणस्तरीय बन्दैछन् प्रजनन स्वास्थ्य प्रजनन अधिकारको रुपमा स्थापित नै भएको छ, तिनै तहका सरकारले अग्राधिकार दिएका छन् जटिलतामा परेकाहरुलाई एयर एम्बुलेन्सकै रुपमा हेलिकप्टर बाट स्वास्थ्य संस्थामा पुर्याउने ब्यवस्था समेत गरिएको छ यो हामिजस्ता स्वास्थ्य क्षेत्र सुधारमा लागेका मानिसहरूलाई आत्मसन्तुष्टि मिल्ने कुरा हो तर स्थानिय सरकार देखि सरोकारवाला निकायहरू ले ईतिहास विर्सेर योगदानको अवमुल्यन गर्दा भने असैह्य पिडा महसुस भएको छ।
हरिप्रसाद पौडेल
अध्यक्ष, कदम म्याग्दी
२०८०/०४/२०