बेनी, । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिचाई सुविधा विस्तार भएको छ ।
खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा निर्माण गरेको आयोजना मार्फत सिचाई सुविधा विस्तार भएको हो ।
कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले ३१ वटा योजना मार्फत ८८ हेक्टर क्षेत्रफलमा सिचाई सुविधा विस्तार भएको जानकारी दिनुभयो । “म्याग्दीको खेतीयोग्य जमिनमा सिचाई सुविधाको पहुँच बढ्दै गएको छ,” उहाँले भन्नुभयो “सिचाई सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने कृषकको समस्या हटेको छ ।”
कार्यालयका सबईन्जिनियर अन्जन खत्रीले गत आर्थिक वर्षमा सात हजार ३३० मिटर पक्की नहर निर्माण र १४ हजार ३१८ मिटर पाईपलाइन जडान भएको जानकारी दिनुभयो । ती योजनाहरुबाट तीन हजार १५७ जना कृषक लाभान्वित भएका उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा कुल रु. १६ करोड ३६ लाख दश हजार पुजिगत बजेट भएको खानेपानी जलस्रोत तथा सिचाई विकास डिभिजन म्याग्दीले रु. १२ करोड ८५ लाख ८० हजार ६ खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कुल तीस हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार ४१९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । ११ हजार ३५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ ।
खेती भएको मध्य ३०.८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले बताउनुभयो । “एक हजार ६१३ हेक्टरमा बाह्ै महिना, चार हजार ३३३ हेक्टरमा मौसमी सिचाई सुविधा छ,” उहाँले भन्नुभयो “खेती भएको मध्य ६९.१६ प्रतिशत अथवा १३ हजार ४८५ हेक्टर जमिनमा सिचाई सुविधा पुगेको छैन् ।”
केन्द्र मार्फत गत आवमा निर्माण भएका १५ वटा साना सिचाई आयोजना मार्फत एक हजार सात सय रोपनी जमिनमा सिचाई सुविधा पुगेको छ । केन्द्रका प्रमुख किरन सिग्देलले ३०० घरधुरी कृषक लाभान्वित भएका बताउनुभयो ।
“साना सिचाई कार्यक्रम मार्फत १५ वटा समूहलाई रु. २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ,” सिग्देलले भन्नुभयो “केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समुहको १० प्रतिशत श्रमदानमा सिचाई योजना निर्माण भएका हुन् ।”