बेनी, । १२ वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका बेनी नगरपालिका–३ भकिम्लीका कृषक धनबहादुर श्रीस फार्ममा उत्पादन भएका बाख्राको लागत अनुसारको मूल्य नपाउँदा चिन्तित हुनुहुन्छ ।
“एउटा बाख्रालाई एक वर्षसम्म पाल्दा दाना र घाँसमा मात्र रु. २३ हजार ६९० लगानी पर्छ,” उहाँले भन्नुभयो “तर मूल्य पन्ध्र्र हजार पार्न पनि मुस्किल छ ।” बेनी नगरपालिका–४ सिंगाका वडा अध्यक्ष समेत रहनुभएका बाख्रापालक कृषक अणबहादुर खड्का (भगवान) रु. तीन लाख लगानी गरेर किनेको बोयर बाख्रा अहिले प्रतिगोटा रु. २५ हजारमा पनि बिक्री हुन छाडेको बताउनुहुन्छ ।
बेनी नगरपालिका–६ फुर्केसल्लाका मुक्ति खड्काले उत्पादन भएको आलु बजारमा बिक्री नभएको र भण्डारण गर्ने ठाउँ नहुँदा पाँच बोरा आलु कुहिएको बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि कृषकहरुले पशुजन्यसँगै तरकारी र फलफुलले पनि बजार र उचित मूल्य पाउन नसकेको गुनासो गरेका थिए ।
दूध उत्पादक कृषक सुरेश ढुंगानाले कृषकको आवश्यकता र समस्या तथा सरकारको कार्यक्रमबीच तालमेलमा समस्या देखिएको बताउनुभयो । बेनी नगरपालिका— ४ बास्कुनाका तिलक गुरुङले कृषि उपज बजार पु¥याउन राम्रो सडक नहुँदा ढुवानी खर्च बढी भएको गुनासो गर्नुभयो ।
धवलागिरी गाउँपालिका–३ दरका दिनेश गर्बुजाले तमाटर र तरकारीले बजार तथा वास्तविक कृषकले राज्यको सुविधा नपाएको गुनासो गर्नुभयो । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका लोकबहादुर पुर्जा पुनले आफै लगानी गर्न नसक्ने अनुदानका कार्यक्रममा छनौट भएका कृषकलाई पेश्कि दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
बेनी नगरपालिका–१ रत्नेचौरका निरबहादुर थापाले पछिल्लो समय कृषि प्राविधिक सेवा ओझेलमा परेको र खेतबारीमा प्राबिधिक नआएको गुनासो गर्नुभयो । झञ्जटिलो भएकाले बाली बिमा गर्न नसकेको थापाको भनाई थियो । बाँझो जमिनमा खेती गर्नेलाई अनुदान, उत्पादनमा आधारित अनुदानका कार्यक्रम व्यवहारिक नभएको उहाँले बताउनुभयो ।
बेनी नगरपालिका–६ का कमल पौडेलले गाईभैसी फार्ममा मल खेर गएको र सिचाई अभावमा समयमा खेती लगाउन नपाएको गुनासो गर्नुभयो । बेनी नगरपालिका–२ का दिपकबहादुर मल्लले सिंगामा बन्न लागेको चिस्यानगृह सञ्चालन गर्न दक्ष प्राविधिक जनशक्ति तयार पार्न सुझाव दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले आगामी वर्षदेखि अनुदानका कार्यक्रमलाई वास्तविक कृषक सम्म पुग्ने गरि कार्यबिधीलाई संसोधन गर्न मन्त्रीपरिषद्मा छलफल भैरहेको बताउनुभयो ।
मन्त्री जुग्जालीले ग्रामिण क्षेत्रमा उत्पादन भएका कृषि उपजको बजारीकरणलाई सहज बनाउने उद्देश्यले सडक स्तरोन्नति, पुल निर्माण गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । प्रदेशसभा सदस्य बिमला गौचनले कृषकका समस्यालाई संसदमा उठाउने र नीतिगत रुपमा समाधान गर्न पहल गर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले उत्पादन र उत्पादकत्व वृद्धिसँगै अबका कार्यक्रम बजारीकरणलाई जोड दिएर बनाउने बताउनुभयो । जनशक्तिको कमी, भौगोलिक बिकटता र सडक यातायातको असहजताका कारण म्याग्दीमा कार्यक्रम कार्यान्वयनमा चुनौति भएको बताउनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले कृषकको समस्या र सरोकारवालाको सुझावको आधारमा आगामी वर्षको कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।