म्याग्दीमा कृषिको ६४ र भेटेरिनरीको ८१ प्रतिशत बजेट खर्च

khali

बेनी, । चालु आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीमा रहेको कृषि ज्ञान केन्द्रले ६४ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ८१ प्रतिशत बजेट खर्च गरेका छन् ।

दुई वटै कार्यालयले चालु आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने समय सकिएको भोलीपल्टै सोमबार बेनीमा संयुक्त कार्यक्रम गरेर सरोकारवालाहरुको उपस्थितिमा प्रगति विवरण सार्वजनिक र सार्वजनिक सुनुवाई गरेका हुन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले चालु वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीले संघ र प्रदेशबाट प्राप्त कुल बजेट पाँच करोड ४६ लाखमध्ये तीन करोड ५० लाख १० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

किसान लक्षित अनुदानसँगै, साना व्यावसायिक कृषि फर्म, साना सिँचाइ, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, जलवायुमैत्री नमुना कृषि गाउँ लगायतका कार्यक्रम सञ्चालन भएको थियो । कृषि ज्ञान केन्द्रको कार्यक्रमबाट ४३ कृषक समूह, एक सहकारी, ५९ कृषि फार्मका एक हजार ९४ घरधुरी लाभान्वित भएका अधिकृत बास्तोलाले बताउनुभयो ।

khali

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदी र नायव पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले प्रदेशबाट रु. चार करोड ३६ लाख ७१ हजार बजेट प्राप्त भएकोमा रु. तीन करोड ५६ लाख ९० हजार रुपैयाँ अर्थात् ८१ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।

त्यस्तै संघीय सशर्त अनुदानबाट रु. २१ लाख ४५ हजार बिनियोजन भएकोमा रु. २१ लाख १९ हजार र रणनीतिक कृषि आधुनिकिकरण कार्यक्रमको रु. ७५ हजार प्राप्त भएकोमा रु. ६७ हजार खर्च भएको नायव पशु सेवा प्राविधिक रिजालले जानकारी दिनुभयो ।

किसानलाई माछाका भुरा खरिद गरेर उपलब्ध गराइएको, नयाँ मत्स्य पोखरीहरु निर्माण गरिएको, फार्म यान्त्रिकरण कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन, चरन खर्क सुधार, कृत्रिम गर्भाधान, समुदायस्तरमा चौरी विकास कार्यक्रम, भेडा प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन गरिएको छ । म्याग्दीमा बाख्रापालन, घुम्ती भेडा तथा बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुरपालन र चौरीपालन हुँदै आएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी किसानहरु तिलक गुरुङ, धनबहादुर श्रीष, सुरेश ढुङ्गाना, नरबहादुर थापामगर, मुक्तिबहादुर खड्का, अणबहादुर खड्का, लोकबहादुर पूर्जा पुन, दिनेश गर्बुजा, शिव खड्का, निरबहादुर थापा, कमल पौडेल र दिपकबहादुर मल्लले आ–आफ्नो धारणा र सुझावसहित जिज्ञासा राख्नुभएको थियो । किसानहरुले राखेको जिज्ञासाको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सांसद बिमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत कार्यालय प्रमुख, कृषक प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

प्रमुख सिग्देलको अध्यक्षता, निमित्त प्रमुख सुवेदीको स्वागत, कृषि ज्ञान केन्द्रका सहायकस्तर पाँचौं भोलानाथ आचार्यले सञ्चालन गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव सन्तोष गौतम, सहसचिव साधन राम्जाली र पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

Raghunga notice
प्रतिक्रिया दिनुहोस
Loading...