बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को बेनी सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले गरेको उजुरीको विषयमा अनुसन्धान थालेको छ ।
सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिस, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको परिपत्र र बचतकर्ताहरुको उजुरीको आधारमा असार १७ गते मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाएको हो । अन्य बचतकर्ताहरुको समेत जाहेरी दरखास्त आउने क्रम जारी रहेको प्रहरी निरीक्षक किरण लामाले जानकारी गराउनुभयो ।
विगत पाँच महिनादेखि बन्द भएको बेनीको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य सेवा केन्द्रका बचतकर्ताहरुले रकम फिर्ता नपाएको र सञ्चालकहरुले सहकारीको रकम अपचलन गरेको भन्ने उजुरी दर्ता गराएका छन् ।
एकवर्ष अघि बेनीको न्यूरोडमा करिब रु. ६ करोडमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले सेवा केन्द्र स्थापना गरेको शिव शिखरका कर्मचारीले आकर्षक ब्याज र बोनसको लोभ देखाएर बचतकर्ताबाट निक्षेप बचत गर्न र सेयर हाल्न लगाएका थिए ।
उजुरी गरेका पिडित बचतकर्ता सेयर सदस्यको करिब रु. छ करोड ५० लाख सहकारीले नदिएको बताएका छन् । निक्षेप फिर्ता नगरेको भन्दै २५ जना बचतकर्ताले बेनी नगरपालिकाको न्यायिक समितिमा पनि उजुरी गरेका छन् । बेनीका अन्य केही सहकारी संस्थाहरुले पनि बचत फिर्ता नगरेको सदस्यहरुले गुनासो गरेका छन् ।