मगर जातिभित्र बस्दैनौं, हामी छुट्टै जाति हौ-पुन समाज नेपाल

Gandaki Kotihome

पोखरा, पुन समाज नेपालले राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनगणना तथ्यांकमा पुन समुदायलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेकोमा स्वागत गरेको छ ।

शनिबार पोखरामा भएको १७ औं राष्ट्रिय सम्मेलन क्रममा बोल्दै वक्ताहरुले लामो संघर्षपछि गुमेको आफ्नो पहिचान फिर्ता पाउन सकेको बताएका हुन् ।

राष्ट्रिय तथ्यांक विभागले ०७८ को जनगणनामा पुन समुदायलाई छुट्टै जातिमा सूचीकृत गरेको हो ।

Upper Myagdi transmition line notice

यसअघि राष्ट्रिय तथ्यांक विभागले मगर जातिकै एक थरका रुपमा पुन समुदायलाई गणना गर्दै आएको थियो ।

तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पुन जातिको संख्या ९ हजार ८ सय २७ जना देखाएको छ ।

तथ्यांक विभागले यसपटकदेखि पुनलाई छुट्टै जाति घोषणा गरेपछि यसबारे विवाद जारी छ ।

पुनलाई छुट्टै जातिभित्र समेटेकोमा एकातिर स्वागत भइरहेको भने अर्कोतिर विरोध । मगर संघले पुनलाई छुट्टै जाति घोषणा गरेर फुट ल्याउन खोजेको आरोप लगाउँदै आएको छ भने पुन समाजले स्वागत गरेको हो ।

नेपाल पुन समाजका अध्यक्ष भीमबहादुर फगामी पुन राष्ट्रिय तथ्यांक विभागले पुन समुदायलाई तथ्यांकमा समावेश गरेसँगै आफूहरु पहिचानको एक खुड्किलो चढेको बताए ।

तथ्यांकमा पुन समुदायलाई समेट्न ठूलो संघर्ष गर्नुपरेको उनको भनाइ छ ।

‘हामी पुन छुट्टै जाति हो भनेर प्रमाणित गर्न लामो संघर्ष गर्नुप¥यो । यसलाई पुष्टि गर्न हाम्रा ऐतिहासिक तथ्य, वर्तमान अवस्था र भावी योजनाका बलिया प्रमाण पेश गर्नुप¥यो,’ उनले भने, ‘तथ्यांकमा समेटिएसँगै एक खुड्किलो अगाडि बढ्न सफल भयौं ।’

तथ्यांक विभागमा सूचीकृत भए पनि पुन जातिलाई फेरि पनि खारेज गर्ने खेल भइरहेकाले आफूहरु त्यसको प्रतिकार गर्ने चेतावनी अध्यक्ष पुनले दिए । उनले आफूहरु नेपालको संविधान तथा कानुनअनुसार नै पहिचानको लडाइँमा रहेको सुनाए ।

‘पुन समाजको खारेज गर्ने अरे ! हामीले पनि देशको संविधान, राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन पढेका छौं, बुझेका छौं,’ पुनले भने, ‘अरुले खोसेर लगिदिएको हाम्रो अधिकार पाएका छौं, अब अरुले खोस्न सक्दैनन् । यसको प्रतिकार गर्छौं ।’

Annapurna aarohan ko notice

समाजका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनले मल्लकालीन आफ्नो इतिहासलाई मेटेर मगर जातिभित्र मिसाइएको दाबी गरे ।

उनले पुनहरुको इतिहास नामेट गरेर मगर जातिले दुख दिँदै आएको समेत आरोप लगाए ।

‘मल्लकालदेखिकै पालादेखि पाखापानी (म्याग्दी)का राजालाई मारेर हाम्रा ज्ञान, इतिहास, हाम्रा अभिलेख, शिलालेख, वंशावली सबै गुमेको थियो,’ उनले भने, ‘हाम्रो इतिहास मेटेर हामीलाई जहिल्यै हेलाहोंचो गरियो । दुख दिइयो । अब बल्ल गुमेको हाम्रो पहिचान पायौं ।’

आफूहरु पहिल्यैदेखि छुट्टै जातिको खोजमा भन्दा पनि राज्य अंगमा आफ्नो पहिचान खोज्दै आएको समाजका निवर्तमान अध्यक्ष प्रताप पूर्जा पुनले बताए ।

‘हिजो हामी जातिको खोजीमा भन्दा पनि जनणनामा सूचीकृत हुन खोजिरहेका थियौं । अहिले छुट्टै जाति हो भनेर विभागले भनिसकेको छ,’ उनले भने, ‘यसमा सफल हुन सफल भयौं ।’

पुनले जनगणनाको तथ्यांकअनुसार पुन समुदायको जनसंख्या बढेको समेत दाबी गरे ।

‘हाम्रो पहिचान स्थापित हुन नदिने तत्वहरु धेरै छन् । हिजो हामीलाई औंलामा गन्न सकिने भनिन्थ्यो, आज संख्या बढेको छ,’ उनले भने, ‘हामीले हाम्रो हक, अधिकार खोजेका हौं, यो खोस्ने अधिकार अरु कसैलाई छैन ।’

पुन थरलाई छुट्टै जातिभित्र समेटेपछि मगर संघलगायतले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

असार १ गते काठमाडौं टुँडिखेलमा आयोजित भूमे पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तथ्यांक सच्चिने आश्वासन मगर समुदायलाई दिएका थिए ।

तर, राष्ट्रिय तथ्यांक विभागको तथ्यांकप्रति प्रधानमन्त्री प्रचण्डले अभिव्यक्ति दिएर संविधानले व्यवस्था गरेको हकअधिकारविरुद्ध बोलेको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा पुनले दाबी गरे ।

उनले प्रधानमन्त्री प्रचण्डले जातजातिबीचनै विभेद गरेको समेत आरोप लगाए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...