बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ ।
खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका १२० घरधुरी लाभान्वित भएका छन् ।
रानीपौवा खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले मिटर जडित निजी धारा मार्फत सबै उपभोक्ताको घरघरमा खानेपानी वितरण गरिएको जानकारी दिए ।
ओखलेपानी, खरीपानी र तुसारेपानीको मुहानबाट ल्याएको पानी ७५ हजार लिटर, २० हजार लिटर र १६ हजार लिटर क्षमताको तीन वटा रिजर्भ टंकीमा संकलन गरि पाइपलाइन मार्फत घरघरमा रहेका धारामा आपुर्ति गराउने व्यवस्था मिलाइएको छ ।
साविक पिप्ले गाविसको वडा नम्बर ४ मा पर्ने रानीपौवा, बस्नेगौडा, घारराखर्क, खरिपानी टोलमा एक घर, एक धारा निर्माण भएको स्थानीय अगुवा प्रेमबहादुर कार्कीले बताए । खानेपानी आयोजना निर्माण भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।
सार्वजनिक धाराबाट वितरण हुने पुरानो आयोजनाबाट पर्याप्त पानी आपुर्ति नहुने समस्याले सास्ती भएको थियो । घरकै धारामा पानी आउन थालेपछि समयको बचत, सरसफाईमा सहयोग र दैनिकिमा सुधार भएको स्थानीय उमा कार्कीले बताइन् । पानीका कारण हुने सामाजिक द्न्द्ध र विवाद साम्य भएको उनको भनाई छ ।
वि.स. २०७० मा सर्वेक्षण र २०७४ मा शुरु भएको यो आयोजना संघीयता कार्यान्वयनसँगै संघ र प्रदेश सरकारका निकाय मध्य कसले कार्यान्वयन गर्ने भन्ने बिवादले गत वर्षसम्म अलपत्र परेको थियो ।
कुल एक करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि वि.स. २०७७ सम्म वार्षिक दुई देखि तीन लाख रुपैयाँका दरले बजेट बिनियोजन हुँदा कार्यान्वयन हुन सकेको थिएन् ।
संघले प्रदेशलाई सशर्त अनुदान शिर्षकमा कम बजेट पठाउदा ढिलाई भएको आयोजनामा थप व्यवस्थापनका लागि वि.स. २०७८ मा स्थानीयबासीहरुले दवाव दिएका थिए । पटक पटकको दवाव र ताकेतापछि बजेट व्यवस्थापन भएर आयोजना निर्माण सम्पन्न गर्न सफल भएको स्थानीय सुमन पौडेलले बताए ।
चालु आर्थिक वर्षमा रानीपौवा खानेपानी आयोजनाका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । खानेपानी जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले मुख्य र शाखा पाइपलाईन खरिद, ढुवानी, इन्टेक, टंकी निर्माण, मुख्य पाइपलाइन खन्ने र गाड्ने काम कार्यालय मार्फत भएको बताए ।
उपभोक्ताले शाखा लाइन खन्ने पुर्ने र धारा जडान गरेका हुन् । पानी वितरणलाई व्यवस्थित बनाउन सबै उपभोक्ताको धारामा मिटर जडान गरि महशुल संकलन गर्ने व्यवस्था पौडेलले बताए ।