मकैबालीको फौजीकिरा र गाईगोरुमा देखिएको लम्कि स्किन नियन्त्रणमा कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको चासो

Gandaki Kotihome

बेनी, २७ वैशाख । म्याग्दीमा मकैबालीमा अमेरिकन फौजिकिरा र गाईगोरुमा लम्कि स्किन रोग देखिएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा बुधबार बेनीमा भएका कृषि र पशु स्वास्थ्य प्राविधिकहरुको बैठकमा फौजिकिरा र लम्कि स्किनबाट भएको क्षति, नियन्त्रणका लागि भएका पहल र गर्नुपर्ने प्रयासका विषयमा छलफल भएको छ ।
यसैगरी गोलभेडामा टुटा, सेतो झिँगा र ओइलाउने समस्या देखिएको छ । फौजी किरा नियन्त्रण गर्न ईबा मेक्टिन बेन्जाएटको प्रयोग गरिएको छ । गाईभैसीमा लम्कि स्किन फैलिन नदिन खोप लगाउन जोड दिइएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्य, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सुन्तला जोन कार्यान्वयन इकाईका कृषि अधिकृत बिक्रम बस्नेत, कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोला लगायत छ वटै स्थानीय तह र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्राविधिकहरुको सहभागिता थियो ।

Annapurna aarohan ko notice


अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । यो राति चर्न मन पराउँछ । यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पु¥याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।
फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।
अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने गरेको छ ।
देशका विभिन्न स्थानमा महामारीको रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्कि स्किन’ म्याग्दीमा पनि भित्रिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्यले रघुगंगा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मंगलाको खुम्ल्याह र धवलागिरी गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताउनुभयो ।
“कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमुना संकलन गरेर पोखरा स्थित पशु रोग प्रयोगशालामा पठाएका थियौ,” उहाँले भन्नुभयो “प्रयोगशालाले लम्कि स्किन भएको पुष्टि गरेको छ । कृषकहरुलाई सतर्कता अपनाउन र लम्कि स्किृन विरुद्धको खोप लगाउन अनुरोध गरेका छौ ।”
गाईलाई ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकहरुले बताएका छन् । पाखापानी औलाका हुमबहादुर पुनले बर्खे बाली लगाउने बेलामा गोरु मर्दा समस्या भएको बताउनुभयो ।
करिब एक महिनायता म्याग्दीका विभिन्न स्थानमा लम्कि स्किनको समस्या देखिएको छ । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । यो रोगको उपयुक्त औषधी नभएपनि खोप पहिचान भएको छ ।
ठूला फार्म र गोठमा लम्की स्किन भित्रिन नदिन खोप लगाउन थालिएको बेनी नगरपालिका–७ का कृषक कृष्ण शर्माले बताउनुभयो । खोपको माग अध्याधिक भएकाले भनेको समयमा नपाएको कृषकले बताएका छन् । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दुध उत्पादनमा असर पर्ने जनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस