बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मंगलबार साँझ मृत चितुवा भेटिएको छ ।
बेनी–बागलुङ सडक अन्तरगत रत्नेचौरको घैयारा भन्ने ठाउँमा पोथी वयस्क चितुवा मरेको भेटिएको हो । सडकको छेउमा मुखबाट रगत निस्कीएको अवस्थामा मरेको चतुवा भेटिएको रत्नेचौरका कुशल शर्माले बताउनुभयो ।
“गुडिरहेको सवारी साधनलाई आक्रमण गर्दा टाउकोमा चोट लागेर मरेको जस्तो देखिन्छ,” घटनास्थलबाट शर्माले भन्नुभयो “रत्नेचौर प्रहरी चौकी र डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेका छौ ।”
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले घटनास्थलमा पुगेका वन प्राविधिकहरुको टोलीले बेनी ल्याउदै गरेको बताउनुभयो । ठक्कर दिने सवारी साधन पहिचान नभएको र थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
स्थानीयबासीका अनुसार म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बागलुङ–बेनी सडकमा यसअघि चितुवाले सवारी साधन र मानिसलाई यसअघि पनि आक्रमणको प्रयास गरेको थियो ।