बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले धवलागिरी गाउँपलिकाका चार वटा वडामा बुधबार जनभेटघाट गर्नुभएको छ ।
धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना, ४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो ।
चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद गबुर््जालाई स्थानीयबासीहरुले सडक, पुल, खानेपानी, भवन, पदमार्ग, खानेपानी र पर्यटन सँग सम्बन्धी योजना माग गरेका छन् । मुनाबासीले भवन निर्माण, फलियागाउँ संरक्षण, ताकमबासीले अलपत्र विद्यालय भवन निर्माणलाई सुचारु गर्न, यसअघिको ताकम घना वस्ती विकास कार्यक्रमलाई निरन्तरता दिन, लमसुङबासीले लघुजलविद्युत आयोजनालाई व्यवस्थित गरिदिन र वस्तीलाई नदी कटानबाट जोगाउन, सडक स्तरोन्नती, मुदीबासीले पर्यटकीय पदमार्ग निर्माण, विद्युतीकरण, तातोपानी कुण्डमा शौचालय निर्माण संगै पुर्वाधार निर्माण र ढल निकास लगायत माग गरेका थिए ।
सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धीको लागि स्थानीय, प्रदेश र संघीय सरकारविच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । चुनावमा गरेका वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
आफुहरु निर्वाचित भएपछि जिल्लामा अलपत्र आयोजना सुचारु गर्न र निर्मााणाधिन आयोजनालाई तिब्रता दिनका लागि काम गरिरहेको सुनाउनुभयो । आफ्नो कार्यकालमा दरबाङ–मुना सडक कालोपत्रे र ढोरपाटनलाई सडकले जोड्न प्राथमिकता दिएको बताउनु भएको छ ।
म्याग्दी हुँदै ढोरपाटनलाई सडकले जोड्न सकेमा मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रयत्न गरेको बताउनुभयो । उहाँले विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । जनभेटघाट कार्यक्रममा कांग्रेस म्याग्दीका वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्मा, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, वडा नम्बर २ का वडा अध्यक्ष अकप्रसाद विक, वडा नम्बर ३ का वडा अध्यक्ष देविन्द्र रोका, वडा नम्बर ४ वडा अध्यक्ष यामबहादुर घर्ती र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्री लगायतको सहभागिता रहेको थियो ।
सांसद गर्बुजाले बेनी–दरबाङ सडक आयोजनाको निरिक्षण गर्नुभएको थियो । भने उहाँ संगै धवलागिरी गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष पुन र प्रम्ख प्रशासकीय अधिकृत ध्रुब रिजाल लगायतले गाउँपालिकामा निर्माणाधिन योजनाहरुको अनुगमन गर्नुभएको थियो । यसैगरी कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य नेता धवलागिरी गाउँपालिका–३, फलियागाउँ स्थित स्वर्गिय चकबहादुर मल्लको स्मृतीमा श्रद्धाञ्जली सभा कार्यक्रम समेत गरिएको छ ।