बेनी, । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा विजय घर्ति मगर चयन हुनुभएको छ ।
बेनीमा शुक्रबार सम्पन्न भएको ११ औ जिल्ला अधिवेशनबाट संघको उपाध्यक्षमा प्रदिप तिलिजा र सचिवमा सुशान किसान सहितको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले देशको सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त रहेको बताउनुभयो । उहाँले अन्य पार्टीहरुका युवा सङ्गठनहरुको तुलनामा राष्ट्रिय युवा संघ नेपाल सशक्त रुपमा अगाडि बढिरहेको बताउँदै युवा संघले नेपाली जनता र देशलाई अप्ठ्यारो अवस्था परेको खण्डमा आवश्यक भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।
केन्द्रीय उपाध्यक्ष रावलले देशमा विभिन्न समयमा हुने कालोबजारी, बढ्दो महङ्गी, भ्रष्टाचार, अनियमिमता, अराजकतालगायत गलत क्रियाकलापहरुको भण्डाफोर र नियन्त्रणमा युवा संघले सशक्त भूमिका खेलेको दावी गर्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपालले रक्तदान, खेलकुद र शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्दै आएको भन्दै हालै मात्र १० लाख रुपैयाँ पुरस्कार राशीको केपी ओली कपको समेत आयोजना गरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले वर्तमान परिस्थितिमा एमालेको विरुद्ध चौतर्फी घेराबन्दी भैरहेकाले यसलाई पराजित गर्नका लागि युवा संंघ सशक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा जिल्लाको ४५ वटै वडामा पुगेर आफ्नो सङ्गठन विस्तार गरी व्यापक बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गुरुङ, एमाले जिल्ला सदस्यद्वय दिनेश केसी, सावित्रा केसी, बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सिर्जना केसी, एकजित रोका र कास्की जिल्ला अध्यक्ष पानबहादुर जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका संयोजक शिशिर शाहीको अध्यक्षता र सहसंयोजक विजय घर्तीमगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बेनी नगर कमिटी उपसचिव लक्ष्मण कटुवालले गर्नुभएको थियो ।