धवलागिरीको मरेनी र बुलमा आलु पकेट

Gandaki Kotihome

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।
व्यवसायिक आलु खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो । शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रम मार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले ११४ रोपनी बारीमा आलु खेती गरेका जानकारी दिनुभयो ।
“कृषकहरुलाई ज्ञान, सिप र प्रविधिमा सहयोग गरी व्यवसायिक आलु खेति विस्तार गर्ने कार्यक्रमको उद्देश्य हो,” उहाँले भन्नुभयो “कृषकहरुलाई उपकरण, विउ, विषादी र बजारीकरणमा पचास प्रतिशत अनुदानको सुविधा छ ।”
गाउँपालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नम्बर २ को लनगशील बहुउद्देश्यीय समूह र वडा नम्बर ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई छनौट गरिएको हो । दुई वटै समुहलाई चालु आर्थिक वर्षमा रु. छ÷छ लाखको दरले अनुदान दिइने शाखा प्रमुख खत्रीले बताउनुभयो ।
आठ वटा मिनिटेलर हलो माग गरेका समूहले १२ हजार किलोग्राम विउ आलु रोपेका छन् । यसैगरी विषादी, स्प्रे र बजार पठाउने क्रममा आलु भण्डारण गर्न थैला उपलब्ध गराइने भएको छ ।
कार्यक्रम मार्फत मरेनीमा १८ घरधुरीले २० वर्षदेखि बाँझो रहेको जग्गामा झाडी फडानी गरेर सामुहिक आलु खेती विस्तार गरेका छन् । बुलका ४० घरधुरीले व्यक्तिगत जग्गामा आलु खेती गरेका छन् ।
एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको लगनशिल कृषक समूहका अध्यक्ष गौसरा विकले बताउनुभयो । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा थप एक सय रोपनीमा आलु लगाउने तयारी गरेको जनाएको छ ।
“बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षांैदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ,” गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले भन्नुभयो “यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ् ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...