मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ स्थित ऐतिहाँसिक आदिबराह मन्दिरको पुनःनिर्माण भएको छ ।
१३ औ शताब्दीमा जुम्लाबाट बसाई सरेर मल्लाज आएका घर्ति क्षेत्री र कार्की क्षेत्रीले स्थापना र वि.स. २०४२ मा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर वि.स. २०७२ को भूकम्पबाट क्षति विक्षत भएको थियो ।
पुर्खाहरुले निर्माण गरेको मन्दिर चन्दा जुटाएर पुननिर्माण गरिएको जलजला गाउँपालिका–२ का वडा अध्यक्ष समेत रहनुभएका मन्दिर पुननिर्माण समितिका अध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो ।
“रु. एक करोड ५० लाख चन्दा जुटाएर दुई वटा मन्दिर पुननिर्माण गरेका हौ,” उहाँले भन्नुभयो “मन्दिर पुननिर्माणसँगै ऐतिहाँसिक र धार्मिक महत्वको आदिबराहलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने अभियानमा जुटेका छौ ।”
मन्दिर पुननिर्माणका लागि हाल बेलायतमा बसोबास गर्नुहुने रविन्द्रजंग लामिछानेले सबैभन्दा बढी रु. २५ लाख सहयोग गर्नुभएको छ । पुननिर्मित मन्दिरको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।
ओझेलमा परेको आदिबराह, जलजला र हम्पाल को पहिचान दिलाउन राष्ट्रपतिको साथै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी लगायत राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुको उपस्थितिमा उद्घाटन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
“विशिष्ट व्यक्तिहरुबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाईमा रहेको पौराणिक–धार्मिक तथा जैविक विविधताका हिसाबले महत्वपूर्ण कालञ्जर पर्वतको अवलोकलन समेत भएको भएको छ,” उहाँले भन्नुभयो “यस क्षेत्रको प्रचार, पहिचान दिलाउन सहयोग पुगेको छ । पूर्वाधार विकासमा उहाँहरुको ध्यानाकर्षण गराएका छौ ।”
राष्ट्रपति भण्डारीले बराह ताल संरक्षण र मन्दिर निर्माणमा समुदाय स्तरबाट भएको प्रयासको प्रशंसा गर्दै यस स्थानलाई आन्तरिक र बाह्य पर्यटकको गन्तब्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले कालञ्जर पहाड, मल्लाज दरवार, फलामेडाडा लगायत पर्यटकीय, धार्मिक र ऐतिहाँसिक स्थलको विकासका लागि सडक यातायातको विकासमा पहल गरिएको जानकारी दिनुभयो ।
मुख्य सचिव बैरागीले आफू जन्मिएको र बाल्यकाल विताएको ठाउँमा रहेको ऐतिहाँसिक तथा धार्मिक सम्भावना युक्त बराहताल र आदिबराह मन्दिरको विकासमा साथ दिने प्रतिवद्धता जनाउनुभयो । संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तब्य र कृषिको माध्यमबाट विकसित बनाउन सकिने बताउनुभयो ।
समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करीब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल देखिने स्थानीय नविन जिसीले बताउनुभयो ।
“वस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल र मन्दिर पर्यटक र पूर्वाधारको पर्खाइमा छ,” उहाँले भन्नुभयो “यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ ।”
बेनीदेखि मल्लाज हुँदै करीब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । यो जलजला गाउँपालिकाको सबैभन्दा ठूलो ताल हो । बराहताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागिसमेत उपयोग गरिएको छ ।
जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेका छन् । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ ।
तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा निर्माण भएको घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिरलाई अन्य समुदायको पनि धार्मिक स्थलको रुपमा विकास गर्ने प्रयास गरिएको मन्दिर पुननिर्माण समितिको आर्थिक संयोजक डम्मरबहादुर जिसीले बताउनुभयो ।