बेनी, । बेनी नगरपालिकामा घुम्ति टोली मार्फत दश हजार जना भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत माघ १५ गतेदेखि नगरपालिकाको १० वटै वडामा राष्ट्रिय परिचय दर्ता गर्न घुम्टी टोली परिचालन गरेको थियो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले १० वटा वडाका २० स्टेशनमा दश हजार २४७ जनाको गाउँमै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता भएको जानकारी दिनुभयो ।
१ देखि १० नम्बर वडामा क्रमश ः एक हजार ४१, एक हजार ९९, एक हजार १६३, एक हजार २२१, एक हजार २१४, एक हजार ३९, ७६८, ६९८, एक हजार ३५६ र ६४८ जनाले विवरण दर्ता गराएका हुन् ।
मंगला गाउँपालिकाको १ देखि ४ नम्बर सम्मको वडामा मंगलबारदेखि घुम्ति टोलीले काम शुरु गरेको छ भने मालिका गाउँपालिकामा फागुन ५ गतेदेखि शिविर सञ्चालन हुने जनाइएको छ ।
विभागले विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोलीका रुपमा म्याग्दीमा पठाएको छ । सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरेको प्रजिअ तुलसीराम पौडेलले बताउनुभयो ।
सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्याङ्कका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन गरेको हो ।
उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।
व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।