बेनी । बेनीमा सोमबारदेखि पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
सातौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औगोगिक, व्यापार मेला अन्तरगत आयोजित प्रतियोगितामा ७ वटा स्थानीय तहले सहभागिता जनाएका छन् । बेनी नगरपालिका, धवलागिरी, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकाले सहभागिता जनाएका हुन् ।
पहिलो दिनको खेलमा बेनी नगरपालिकाको रातो र धवलागिरी गाउँपालिका विजयी भएका छन् । मालिका गाउँपालिकालाई १ का विरुद्ध २ सेटले पराजित गर्दै बेनी नगरपालिकाको रातो सेमि फाइनल प्रवेश गरेको जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिनुभयो ।
पहिलो सेट २० का विरुद्ध २५ ले जितेको मालिका बेनपाको रातोसँग दोस्रो सेटमा २५–१८ र तेस्रोमा २५–१८ को अन्तरले पराजित भयो । यसैगरी बेनी नगरपालिकाको अर्को टिमलाई १ का विरुद्ध २ सेटले पराजित गर्दै धवलागिरी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो सेटमा बेनपासँग २५ का विरुद्ध १९ ले पराजित भएको धवलागिरीले दोस्रो सेटमा बेनपालाई २५–१९ र तेस्रोमा २५–२१ को अन्तरमा पराजित गरेको छ । समुह कबाट बेनपा रातो र ख बाट धवलागिरी सेमि फाइनल प्रवेश गरेका हुन् ।
मंगलबार मंगला र रघुगंगा तथा जलजला र अन्नपूर्ण गाउँपालिकाबीच पहिलो चरणको खेल प्रतिस्पर्धा बेनीको खुल्ला मञ्चमा हुनेछ् । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ८८ हजार ८८८ र ५५ हजार ५५५ प्रदान गरिने महोत्सवको खेलकुद व्यवस्थापन उपसमिति संयोजक हिमाल श्रेष्ठले बताउनुभयो ।
उत्कृष्ट खेलाडीलाई रु. दुई हजार, स्पाइकर, ब्लकर, सर्भर, डिफेण्डर र सेटरलाई एक, एक हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।