बेनी, । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने सातौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव तथा प्रदेश स्तरीय
कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९को स्वागतका लागि बेनी बजार झकिझकाउ बन्न थालेको छ ।
बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झुण्डिन र ध्वजा, पटकाले सजाउन थालिएको छ । शनिबार बेनी नगरपाकिलाको दमकल प्रयोग गरेर बजारको सडक सरसफाई गरिएको थियो ।
सजावट, प्रवेशद्धार निर्माणका साथै बजारका सार्वजनिक स्थलहरु सरसफाई भइरहेका छन् । महोत्सव स्थल खुल्ला मञ्चमा स्टल लगायतका संरचना निर्माण भइरहेका छन् । महोत्सवका मुल संयोजक समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
शुक्रबारदेखि शुरु भएको स्टल निर्माणको काम मंगलबार सकिने जनाइएको छ । २६० वटा जस्तापाटाले छाएको स्टल तयार पार्न लागिएको छ । विद्युत, खानेपानी र मञ्ज सजावटको काम भैरहेको छ । अधिकांश स्टल बुक भएका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुटको सुविधा दिइएको छ ।
महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । महोत्सवको अवसर पारेर बेनीमा २० वर्षपछि हनुमान नाच देखाउने तयारी भएको नेपाल भाषा मंका खलले जनाएको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा आयोजित महोत्सवको पुष २८ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्ने तय भएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।
‘हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नुभयो ‘कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।’ दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।