गोपाल आचार्य
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले विविध कार्यक्रम गरेर आइतबार ६८ औ वार्षिकोत्सव मनाएको छ ।
तीन दिनसम्म सञ्चालित वार्षिकोत्सवको अवसरमा सो डान्स, पालिका स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ र भलिबल खेल सञ्चालन भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुको भलिबल खेलमा जनविकास मावि मराङ प्रथम र ताकम मावि दृतीय भएका थिए । छात्र भलिबलमा जनविकास मावि मराङ प्रथम र ताकम मावि दृतीय भए । पालिका स्तरीय मावि हाजिरी जवाफ प्रतियोगितामा ताकम मावि प्रथम, चन्द्रज्योती मावी खिवाङ दृतीय र किसानी चन्द्रकुन्ता मावि धारापानी तृतीय भए ।
सो डान्समा ताकम मावि, चन्द्रज्योती मावि खिवाङ, जनविकास मावि मराङ र धवलागिरी बोर्डिङ स्कुल ताकमका विद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरे । विद्यालय व्यवस्थापन समितिका पदाधीकारीको भलिबलमा जनविकास माविका ओमप्रसाद लामगाडे र छात्रतर्फ ताकम माविका शितल हर्मेल उत्कृष्ट हुनुभयो ।
ताकम माविले प्राविधिक धारतर्फ ९ देखि १२ कक्षा सम्म इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पठनपाठन सञ्चालन गरेको छ । वि.स. २०११ सालमा औपचारिक रुपमा स्थापना भएको ताकम मावि शुरुमा रैकर प्रा.वि र भाषा पाठशाला थियो । वि.स. २०३३ सालमा एकीकृत भएको थियो ।
त्यसपछि बलेवा पैयुँपाटा प्राविको नामबाट सञ्चालन भयो । संस्कृत भाषा पाठशाला हुँदा म्याग्दीको विभिन्न ठाउँ तथा छिमेकी जिल्लाबाट संस्कृत पढ्न ताकममा विद्यार्थी आएका थिए ।
२०५५ सालमा निमावी र वि.स. २०६५ देखि मावि सञ्चालन भएको छ । चिप्लेटीमा रहेको विद्यालयलाई ताकमको रत्नेगैरामा स्थानान्तरण गरिएको थियो । वि.स. २०७७ सालदेखि प्राविधिक तथा व्यवसायिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियरीङमा कक्षा ९ देखि १२ सम्म सञ्चालन भएको छ ।
प्रा.वि. तहमा मात्र पुरा शिक्षक दरबन्दी छ । निमावीमा २ र माविमा २ वटा मात्र शिक्षक दरबन्दी रहेको छ । निमावी र मावि तह निजी स्रोतबाट सञ्चालन गरिएको प्रअ ओमकार पौडेलले बताउनुभाये । यो धवलागिरी गाउँपालिकाको प्राविधिक धारतर्फको पढाई हुने एक मात्र विद्यालय हो ।
आगामी शैक्षिक सत्रमा यस विद्यालयलाई भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धीका लागि अर्थ संकलन अभियान सञ्चालन गरिने र यसका लागि स्वदेश तथा विदेशमा रहनुभएका शिक्षाप्रेमीहरुमा विद्यालयले सहयोगको अपिल गरेको प्रअ पौडेलले बताउनुभयो ।
ताकम मा.वि.ले ६८ औ वार्षिकोत्सव मनायो
प्रतिक्रिया दिनुहोस