बेनी, । म्याग्दीको परोपराकी संस्था ओमकुमारी शान्ति कोषको शनिबार बेनीमा भएको चौथो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पत्रकार समेत रहेका गौतमको नेतृत्वमा सर्वसम्मत चयन भएको कोषको कार्यसमितिको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, दृतीय उपाध्यक्षमा लोकबहादुर पुन (लोकेश), महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री र सचिवमा दिपक श्रेष्ठ रहनुभएको छ ।
समितिको सदस्यहरुमा कृष्ण जिसी, दिलकुमारी पुर्जा, सन्तोष गौतम, सचिन शाक्य, कमल खत्री, टकसरा राना, नन्दकुमार पाईजा, नेत्रराज सुवेदी र मिना राम्जाली रहनुभएको छ । अधिवेशनको उदघाट्न नवनिर्वाचित प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्विर) ले गर्नुभएको थियो । उहाँले कोषको “सहयात्रा– ३” स्मारिकाको विमोचन गर्नुभएको थियो ।
गर्बुजाले म्याग्दीको स्वास्थ्य क्षेत्रमा ओमकुमारी शान्ति कोषले गरेको योगदानको प्रशंसा गर्दै स्वास्थ्य सेवालाई सहज, सर्वसुलभ र प्रभावकारी बनाउन राज्यलाई जिम्मेवार बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । गर्बुजाले कार्यक्रममै रु. ११ हजार १११ तिरेर संस्थाको आजिवन सदस्यता लिनुभएको थियो ।
प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ओमकुमारी शान्ति कोषले स्वास्थ्य उपचार र विपद् व्यवस्थापनमा हाल सम्म खेलेको भूमिका महत्वपूर्ण भएको, संस्थाको प्रतिष्ठा र विश्वासलाई बचाउदै लैजान सुझाव दिनुभयो । नागरिकको स्वास्थ्य अधिकार रक्षाका लागि राज्यलाई गम्भिर बनाउने र उपचारका लागि अभियान चलाउनुपर्ने अवस्था कम गराउन नीतिगत सुधारका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
अर्का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले ओमकुमारी शान्ति कोषले विपन्न म्याग्देलीको स्वास्थ्य उपचारका लागि गरेको प्रयास सहनीय र उदाहरणीय भएको बताउदै म्याग्दीका स्वास्थ्य पूर्वाधार निर्माण, जनशक्ति र उपकरणको व्यवस्थापनमा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारी( केवी)ले स्वास्थ्य सेवामा राज्य जिम्मेवार बन्नुपर्ने बताउदै समुदायको सहयोग जुटाएर शान्ति कोषले गरेको काम सहनीय भएको बताउनुभयो । मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर खत्रीले संस्थालाई पारदर्शी बनाउदै जनविश्वास बचाएर अघि बढ्न सुझाव दिदै आजिवन सदस्य बन्ने घोषणा गर्नुभयो ।
कोषको सहयोगमा मृगौला प्रत्यारोपण गरेकी निशा सुवेदीले आर्थिक अभावमा परेका विपन्न म्याग्देलीको उपचारका संस्थाले अगुवाई गरेर अभियान सञ्चालन गर्दा पारदर्शी भएको र दाताले विश्वास गरेर सहयोग गरेका बताउनुभयो । संस्थागत सदस्य मोना कतारका प्रतिनिधि रमेश पौडेलले संस्थाको पारदर्शीतानै सहयोगदाता र विरामीहरुको विश्वासको आधार बनेको बताउनुभयो ।
संस्थाका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत, महासचिव लोकेश पुनमगरको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनय श्रेष्ठको आर्थिक प्रतिवेदन रहेको कार्यक्रमको संचालन सचिव सन्दिप खत्रीले गर्नुभएको थियो । कोषको संरक्षक सदस्यमा ४१ जना, आजिवन सदस्य ८८० जना रहेको संस्थाले आर्थिक संकलन र कोषको प्राप्त ब्याजबाट हालसम्म २७९ जनाको उपचारमा रु. दुई करोड ५ लाख आर्थिक सहयोग गरेको छ । कोषले छिट्टैनै २ करोड ५० लाख रुपैयाको अक्षयकोष बनाउने जनाएको छ ।