बेनी, । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।
२२ औ स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान) र प्रअ भुवनप्रसाद रेग्मीलाई नगद रु. २५ हजार ५५५ हस्तान्तरण गर्नुभयो ।
सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको सहकारीले यस बर्ष सुस्त श्रवण क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने स्रोत कक्षालाई सहयोग गरेको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
स्रोत कक्षामा हाल ११ जना बालबालिकालाई आवासीय सुविधा र पठनपाठनको व्यवस्था मिलाइएको धवलागिरी माविका प्रअ भुवनप्रसाद रेग्मीले बताउनुभयो । यसअघिको वार्षिकोत्सवमा उज्यालो वैकल्पिक विद्यालय, मौवाफाँटको दृष्टिविहिन र बगुवाखोलाको वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग गरेको सञ्चालक समितिका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।
बेनीमा दुई वटा मात्र बैंक भएको अवस्थामा स्थापना भएको बेनी बचतले स्थापनाकालदेखिनै सेयर सदस्यहरुको विश्वास जित्न सफल भएको संस्थापक उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।