आम्दानीको माध्यम बन्यो झिनीया

Gandaki Kotihome

बेनी, म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएको छ । उद्यमीहरुले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् ।

झिनीया बनाएर उद्यमीहरुले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दशै र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताउनुभयो ।

“अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्,” उहाँले भन्नुभयो “यसपालीको दशै तिहारको सिजनमा हाम्रो समुहले रु. सात लाख बराबरको झिनीया बिक्री गरेका छौ ।”

Upper Myagdi transmition line notice

गौरा सहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामुहिक रुपमा झिनीया उत्पादन गर्नुहुन्छ । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताउनुभयो ।

“झिनीया आम्दानीको स्रोत बनेको छ,” उहाँले भन्नुभयो “खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।” बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौ र बागलुङमा झिनीया बिक्री हुने गरेको छ ।

Annapurna aarohan ko notice

पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यवसायिक रुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताउनुभयो ।

उहाँले हाल रु. ७० हजारमा झिनिया बनाउने विद्युतबाट चल्ने आधुनिक मेसिन खरिद गर्नुभएको छ । तिहारका लागि मात्र ५ बोराभन्दा बढी चामलको रु. एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताउनुभयो ।

चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन (प्रति १२ गोटा) झिनियाँलाई आकार अनुसार रु. १३० देखि २०० सम्ममा बिक्री हुन्छ ।

बेनी नगरपालिका–७ मंगलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताउनुभयो । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीहरुको संख्या पचास जना भन्दा धेरै छ ।

घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकता अनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताउनुभयो ।

हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...