धौलागिरी चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीको पैदलयात्रा

Gandaki Kotihome

बेनी । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गको प्रर्वद्धनका लागि प्रवासीहरुले पैदलयात्रा थालेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा साहसिक पदयात्रा शुरु गरेका हुन् । संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।

धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने पदयात्रा टोलीले बुधबार बेनीदेखि पैदलयात्रा शुरु गरेको हो । मोना हङकङमा आवद्ध १० जना, तीन जना सञ्चारकर्मी, पथप्रर्दशक र सहयोगी सहित ३२ जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

Upper Myagdi transmition line notice

धौलागिरि चक्रीय साहसिक पदमार्गको रुपमा परिचित छ । प्रचार प्रसारको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सामुहिक पदयात्रा आयोजना गरिएको मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले बताउनुभयो ।

‘‘अथाह सम्भावना भएर पनि ओझेलमा परेको यस पदमार्गलाई प्रचार प्रसार गर्ने उदेश्यले पदयात्रा सुरु गरेका छौ,” उहाँले भन्नुभयो “ हाम्रो पैदलयात्राले विश्वभर छरिएका म्याग्देलीहरुलाई पनि जन्मथलोको भ्रमणका लागि सन्देश दिने अपेक्षा गरेका छौ ।’’

Annapurna aarohan ko notice

टोलीमा मोना हङकङका कर्ण पुन, मनु पुन, प्रमोद गिरि, सुनिता पूर्जा पुन, जेबेन्द्र फगामी, मन्दिरा फगामी, राजु गर्बुजा पुन, देवमाया पुन, इन्द्र एलजी थापा मगर र लक्ष्मी थापा मगर सहभागी छन् ।

बेनीदेखि दरबाङ–ताकम–मुना–मुदी–बगरा गाउँ हुँदै धौलागिरि आधार शिविर पुगेर त्यहाँबाट धौलागिरि हिमाललाई फन्को मार्दै मुस्ताङको लेते निस्कने गरि १२ दिनमा पदयात्रा सकिने मोना हङकङका महासचिब जेबेन्द्र फगामीले बताउनुभयो ।

पहिलो दिन पदयात्रा टोली बेनीदेखि धवलागिरी गाउँपालिका–७ को काफलडाडामा पुगेको छ । काफलडाडाको युवा क्लव, आमा समूहले स्वागत गरेका थिए । टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ, ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य लगायतले विदाइ गर्नुभएको छ ।

मोना हङकङको सामुहिक पदयात्राले ओझेलमा परेको धौलागिरि क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउनुको साथै संसारभर छरिएर रहेका म्याग्देलीहरुलाई जन्मथलोको विकास र सामाजिक क्षेत्रमा थप क्रियाशिल हुन सन्देश दिने धौलागिरि पर्यटन परिषदका अध्यक्ष बानियाँले बताउनुभयो ।

हिमाल आरोहण, आधार शिविर क्षेत्रको भ्रमणसंगै सिंगो धौलागिरि हिमाललाई फन्को मार्न सकिन्छ । पदमार्ग, खानेपानी, होटल, सञ्चार लगायतको अभावमा यो पदमार्ग ओझेलमा परेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...