बेनी । न्युन पारिश्रमिकमा काम गरिरहेका विद्यालय कर्मचारीहरुले तलव वृद्धिको माग सहित गरेको आन्दोलनका कारण म्याग्दीका विद्यालयहरुमा आइतबार पठनपाठन प्रभावित भएको छ ।
भदौ १ गतेदेखि नेपाल विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा भएको आन्दोलनलाई सर्मथन गर्दै नेपाल शिक्षक महासंघ म्याग्दीले सामुदायिक विद्यालय बन्दको आव्हान गरेको थियो । शिक्षक र कर्मचारीहरुको तलब बढाएपनि विद्यालय कर्मचारी (सहयोगी र लेखापाल)हरुको नबढेकाले विभेद भएको उनिहरुको गुनासो छ ।
विद्यालय सहयोगी र लेखापाललाई मासिक रु. १५ हजार (संघीय रु. ८ हजार र स्थानीय तहको रु. सात हजार) तलब रहेको छ । एकै प्रकृतिका उही पदका कर्मचारीहरु बीचको विभेदकारी पारिश्रमिक न्यायोचित नभएको विद्यालय कर्मचारीहरुको गुनासो छ ।
शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदी र सचिव जगतकुमार सापकोटाले विद्यालय कर्मचारीहरुलाई समान हिसाबले तलब बृद्धी गरेर पठनपाठन गर्ने वातावरण मिलाउन सरकार समक्ष विज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ ।
यसअघि शिक्षक संघ संगठनसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न शिक्षक महासंघले माग गरेको छ । तलब बृद्धीका लागि अदालतले गरेको फैसलाको सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । यसैबीच शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर आन्दोलनरत विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको छ ।