बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ ।
भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि भगवतिमा लाखे नाच देखाइएको स्थानीय युवा मिलन श्रेष्ठले बताउनुभयो ।
बसाई सराई र वैदेशिक रोजगारका कारण गाउँमा लाखे नाच देखाउने जनशक्ती नहुँदा मौलिक कला र संस्कृतिले निरन्तरता पाउन सकेको थिएन् । नेवार समुदायले घण्टाकर्ण चतुर्थी देखि हरितालिका तिजको दिनसम्म बर्खे नाच अन्तरगत लाखे लगायत विभिन्न नाच देखाउने चलन छ ।
परम्परागत समाजमा दुख दिएको राक्षसको अन्त्य गरेपछि उसकी पत्निले पतिवियोगमा देखाउने चरित्रलाई लाखे नाचमा प्रस्तुत गर्ने गरिन्छ । भगवतिको हटियाका साथै मैदानमा पनि लाखे नाच देखाइएको थियो ।
हरितालिका तिजको दिनमा पनि लाखे नाच देखाउने तयारी गरिएको छ । विभिन्न काम र पेशाको शिलशिलामा बेनी, कुश्मा, पोखरा लगायतका ठाउँमा पुगेका भगवतिका नेवार युवाहरुले मौलिक लाखे देखाउने संकृस्त जोगाउन चासो दिएर एकतावद्ध भएका छन् ।