बेनी। रासायनिक मल र विषादीको प्रयोग घटाउन सन्देश प्रवाह गराउने उद्देश्यले सञ्चालन भएको माटो जोगाऔ अभियानको टोली मंगलबार बेनीमा आएको छ ।
गत जेठ १ गते काठमाडौदेखि अभियान शुरु गरेका पर्वतको मोदी गाउँपालिकाका नविन पुनको टोली एक हजार आठ सय किलोमिटर दुरी दौड मार्फत पार गरेर बेनीमा आएको हो ।
जैविक मलको प्रयोग र जैविक खेती प्रविधी अपनाउन अनुरोध गर्दै अभियानमा निस्कीएको टोलीले लुम्बीनी, कर्णालाी र सुदुरपश्चिम प्रदेशको पनि सबै जिल्लामा पुगेर तीन हजार ५०० किलोमिटर दुरी दौडिएर पार गर्ने अभियन्ता पुनले बताउनुभयो ।
आनीवानी र खेती प्रणालीमा परिवर्तन गरेर माटोको उर्वराशक्ति बचाउन कृषक, जनप्रतिनिधी, कृषि प्राबिधिक, विज्ञ र सरोकारवालाहरुसँग अन्तरक्रिया, छलफल गरेको पुनले बताउनुभयो ।
माटोमा उर्वराशक्तिका लागि तीन प्रतिशत अर्गानिक तत्व हुनुपर्नेमा नेपालको माटोमा १.८ प्रतिशत मात्र अर्गानिक तत्व भएकाले माटोको अर्गानिक तत्व बढाउन जैविक खेती प्रविधी गर्नुपर्ने पुनको भनाई छ ।
“माटोले उत्पादन शक्ति गुमाउँदा मरुभुमिकरण हुने खतरा छ,” उहाँले भन्नुभयो “जैविक विविधताको संरक्षण र माटोको उर्वराशक्ति बढाउन कम्पोष्ट मल र जैविक खेती प्रणालीको विकल्प छैन् ।”
पुन सहित निर्मल श्रेष्ठ, सनम लिम्बु र अजय भण्डारीको टोली माटो जोगाऔ अभियान लिएर देश दौडाहमा निस्कनुभएको हो । टोलीले म्याग्दी बहुमुखी क्यामपसका विद्यार्थीहरुलाई माटो जोगाऔ अभियानको बारेमा जानकारी गरेको थियो ।
यसैगरी पर्वतको मिलनचोकमा मंगलबारनै जलजला गाउँपालिकाका जनप्रतिनिधीहरुसँग पनि छलफल गरेका छन् । बेनीमा नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट गरेका थिए । महासंघका शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।