बेनी। जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई बंशजको आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अंगिकृति नागरिकता लिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नागरिकता र राहदानी लिनेको संख्या बढेका बताउनुभयो । कोभिडका कारण अघिल्ला दुई आवमा राहदानी र नागरिकता बनाउन नपाएकाले गत आवमा बनाएकाले बढेका हुन् ।
सहायक प्रजिअ शर्माका अनुसार गत आर्थिक वर्षमा चार हजार ५२८ साधारण र ८४४ द्रुत राहदानीका लागि सिफारिस गरिएकोमा तीन हजार ८९२ राहदानी वितरण गरिएको छ । ६३६ राहदानी वितरण गर्न बाँकी छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा तीन हजार २०५ वटा नयाँ र एक हजार ७१५ वटा प्रतिलिपी नागरिकता वितरण भएको थियो । यसैगरी एक हजार ९७५ वटा साधारण र ४३५ वटा द्रुत राहदानी सिफारिस गरिएकोमा दुई हजार २० वितरण भएको थियो ।
राहदानी दस्तुर शिर्षकमा गत आर्थिक वर्षमा रु. दुई करोड ३९ लाख साठी हजार पाँच सय राजस्व संकलन भएको छ । अघिल्लो वर्ष सो शिर्षकमा रु. एक करोड नौ लाख २५ हजार राजस्व संकलन भएको थियो ।
यसैगरी गत आर्थिक वर्षमा आठ हजार ५५ जनालाई राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेका छन् । आगलागी, चट्याङ, बर्षा र हिमपातबाट प्रभावितलाई रु. दश लाख दश हजार, द्धन्द्ध पिडितलाई रु. पाँच लाख ८८ हजार राहत वितरण भएको छ ।
मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुननिर्माणका लागि रु. एक करोड ४३ लाख पचास हजार अनुदान भुक्तानी भएको छ । ३७ वटा नयाँ संस्था दर्ता र १९७ नविकरण, २७५ नावालक परिचयपत्र, ७०९ विविध सिफारिस, ५५ हातहतियारको नविकरण, ४ हातहतियार नामसारी र ४५५ भू.पु. सैनिक पेन्सन सिफारिस भएको छ ।
७५ वटा ठाडो उजुरी परेको प्रशासनमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका १८ सहित २५ वटा मुद्दा दर्ता भएकोमा १९ वटा फस्यौट भएको छ । संस्था दर्ताबाट रु. तीन लाख ७० हजार ७३५, हातहतियार नविकरण तथा नामसारीबाट रु. छ लाख १० हजार २००, प्रशासनिक दण्ड जरिवानाबाट रु. एक लाख पाँच हजार ४१५, न्यायिक दण्ड जरिवाना र जफत शिर्षकमा रु. पाँच हजार र घरौटी शिर्षकमा रु. ८२ हजार २६५ राजस्व संकलन गरेको छ ।