नगरपालिकाद्धारा बेनी–गलेश्वर सडक मर्मत
सजिना खड्का (प्रतिक्षा)
बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ ।
हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको सोमबारका दिन गलेश्वरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको चहलपहल बढेको हो । कोरोना भाइरसको महामारीका कारण यसअघिका दुई वर्षको साउन महिनामा गलेश्वरमा पुजाआजा भएको थिएन् ।
यसपाली भने आज साउन २ गते परेको पहिलो सोमबारका दिन बिहानै देखि भक्तजनको चहलपहल बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । बेनी नगरपालिकाले बेनी देखि गलेश्वर जोड्ने सडक र गलेश्वर बसपार्क क्षेत्रमा मर्मत गरेको छ ।
आइतबार नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर परिचालन गरेर बेनी–गलेश्वरको साँघुरो सडक विस्तार, खाल्डाखुल्डी पुर्ने र ग्रेड मिलाएको बेनपा ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो ।
नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले सडकको स्थलगतको निरक्षण गरी मर्मतका लागि समन्वय गर्नुभएको थियो । गलेश्वर बसपार्क क्षेत्रमा थुपारिएको निर्माण सामग्री पन्छाएर व्यवस्थित बनाइएको छ ।
यस वर्षको साउनको २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । कोषका सदस्य सचिब बलबहादुर खत्रीले साउन महिनामा लाग्ने मेला र पुजाआजालाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर उपसमिति बनाइएको बताउनुभयो ।
भगवान शिवको प्रिय महिना साउनमा शिवको दर्शन, पुजाआजाका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकी नदीबाट पम्पिङ गरेर तानिएको पानीलाई २५ हजार लिटर क्षमताको ओभरहेड टंकीमा संकलन गरेर धारामा भक्तजनले स्नान गर्ने ब्यवस्था मिलाएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।