लमसुङ,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।
सो कार्यक्रममा स्थानीयबासीहरुले सडक बनेपनि यातायात सुविधा नपाएको, लमसुङ र लुलाङमा सञ्चार समस्या भएको, दरखोला दोस्रो लघुजलविद्युत परियोजना निर्माणका क्रममा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले सम्झौता गरे अनुसारको भुक्तानी नदिदा समस्या भएको, लुलाङका बासिन्दालाई स्वास्थ्य सेवा लिन असहज भएको, टुक्रे विकास योजनामा लगानी अनुसार उपलब्धी नदेखिएको गुनासो गरेका थिए ।
यसैगरी लुलाङ खानेपानी योजना निर्माणमा ढिलासुस्ति भएको, विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्थापन नभएको, निर्माण व्यवसायीले कामदारलाई समयमा ज्याला नदिएको गुनासो पनि गरेका थिए ।
टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउन, इन्टरनेट जडान गरेर पञ्जिकरण सेवालाई डिजिटलाइन्ड बनाउन, लमसुङको पहिरो नियन्त्रण, पहिरोबाट विस्थापितको व्यवस्थापन, बर्खामा पदमार्ग र काठेपुल मर्मतको ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लुलाङ र गुर्जालाई सडक सञ्जालमा जोड्न प्राथमिकता दिएर आगामी आर्थिक वर्षमा रु. ४५ लाख बजेट बिनियोजन गरेको जानकारी गराउदै सडक निर्माणका लागि सहमति गर्न वडाबासीलाई आग्रह गर्नुभयो ।
“बिवादका कारण महतलाबाट सडक निर्माण अघि बढ्न नसकेको सबैले महशुस गर्नुभएको होला,” उहाँले भन्नुभयो “सबैको समस्या र आवश्यकता बुझेर विकासका लागि सहमति गर्न वडावासीलाई आग्रह गर्दछु ।”
लुलाङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने दिर्घकालिन योजना रहेको बताउदै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन उपभोक्ता समिति जिम्मेवार र सर्वसाधारण जागरुक तथा सक्रीय बन्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष रेशम पुनमगरले लुलाङ खानेपानी आयोजना सम्पन्न गराउन निर्माण व्यवसायीलाई ताकेता गरिएको बताउदै बर्खामा गाउँपालिकाका सडक र पदमार्ग मर्मत गरेर नियमित सञ्चालन गर्न बजेट व्यवस्थापन गरेर काम भैरहेको जानकारी दिनुभयो ।
चार वर्षअघि निर्माण सकिएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको उपभोक्ता समितिलाई वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले सम्झौता अनुसार भुक्तानी नदिएको भन्ने विषयमा थप अध्ययन गरी समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बैंकका कर्मचारीलाई अहिले वडामा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गर्ने व्यवस्था मिलाइएको र बैंकको सेवालाई सहज बनाउन प्रतिस्पर्धी अर्को बैंक भित्र्याउनुपर्ने बताउनुभयो ।
टेलिकमको टावर राख्ने ठाउँको बिवादले मोवाइल सेवा विस्तारमा समस्या भएको बताउदै उहाँले सहमतिका लागि स्थानीयलाई आग्रह गर्दै इन्टरनेट विस्तार गरेर पञ्जिकरणको काम वडाबाटै अनलाइनमा गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो ।
वडाको समस्या पहिचान, नागरिकको गुनासो, सुझाव र अपेक्षा बुझेर सुधार तथा सम्बोधनका लागि सार्वजनिक सुनुवाईले सहयोग गरेको प्रशासकीय अधिकृत खत्रीले बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले गाउँपालिकाको सेवा सुविधा र विकास निर्माणका विषयमा नागरिकको गुनासो सुनेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
वडा अध्यक्ष अकप्रसाद बिकले पिछदिएको लुलाङको वडामा विकास निर्माणलाई प्रभावकारी बनाउदै वडाको सेवा प्रवाहलाई सहज बनाउने प्रतिवद्धता जनाउनुभयो । वडा सचिव गिरीराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य मिमबहादुर पाईजाले स्वागत र पत्रकार सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष गमप्रसाद बिक, लुलाङ सामुदायिक भवन निर्माण समितिका अध्यक्ष फुलबहादुर बिक, महतला–लमसुङ सडक निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाइजा लगायतले सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।