बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति शुरु

Gandaki Kotihome

बाबियाचौर, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति थालिएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत, बाबियाचौर, लाम्पाटा हुदै रणवाङको सिमाना सम्मको सडक कालोपत्र गर्न स्तरोन्नति थालेको हो ।

कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–दरवाङको सिम–लाम्पाटा खण्डमा निर्माण व्यवसायीले प्रारम्भिक चरणको काम थालेका जानकारी दिनुभयो । “चार किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो,” उहाँले भन्नुभयो “तोराखेत क्षेत्रमा मेसिनरी पर्खाल निर्माण थालेका छन् ।”

Upper Myagdi transmition line notice

अधिकारीका अनुसार ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोलेको थियो । १० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको ओमबृद्धका प्रतिनिधी प्रविन सापकोटाले बताउनुभयो ।

Annapurna aarohan ko notice

यो खण्डका लागि चालु आर्थिक वर्षमा रु. दुई करोड ९५ लाख बजेट बिनियोजन भएको थियो । बि.स. २०६३ मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो ।

बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक तीन वटा खण्डमा स्तरोन्नति भइरहेको छ । वि.स. २०७४ असोज ४ गते लामा–समानान्तर जेभीले रु. ४५ करोडमा ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

११ मिटर फराकिलो बनाइएको सडकमा नाली पर्खाल निर्माण गरेर सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो । यही असार महिनाभित्र काम सकेर हस्तान्तरण गर्ने तयारी गरेको लामा–समानान्तरका आयोजना व्यवस्थापक राकेश सदाले बताउनुभयो ।

बिरुवा–क्याराभान जेभीले वि.स. २०७६ असार ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक निर्माणको काम भने अलपत्र बनेको छ ।

गत वैशाख महिनादेखि निर्माण व्यवसायी सम्पर्क विहिन हुँदा अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताउनुभयो । २०७८ चैत महिनामा सकिएको सम्झौताको म्याद थप र काम अघि बढाउन पत्र तथा फोन मार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेपछि जमानत जफत गरेर कारबाही प्रक्रीया थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

२०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । गत वैशाख महिनादेखि कार्यक्षेत्र छाडेर गएका निर्माण व्यवसायी अझै फर्किएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधी सोमनाथ गौचनले बर्खामा सडक सञ्चालनका लागि डोजर तयारी अवस्थामा राख्ने र बर्खा लगत्तै काम थालिने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...