सात सय बर्ष पुरानो बेनीकोतको पुननिर्माण शुरु

Gandaki Kotihome

बेनी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको ऐतिहासिक बेनीकोतको पुननिर्माण, ब्यवस्थापन र संरक्षण शुरु भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो ।

बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न ब्यवस्थापन र संरक्षणको काम शुरु गरेको हो । नगरकार्यपालिकाका प्रबत्ता समेत रहनुभएका वडा अध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक बर्षमा दुई वटा शिर्षकमा बिनियोजन भएको रु. १३ लाख बजेटबाट कोतघर पुननिर्माण र ब्यवस्थापनको काम शुरु भएको बताउनुभयो ।

“रु. पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई ब्यवस्थित र संरक्षण गर्न पूर्बाधार निर्माण भएको छ,” उहाँले भन्नुभयो “अर्को शिर्षकमा बिनियोजन भएको रु. आठ लाख बजेटबाट कोतघर पुननिर्माण गर्न लागेका छौ ।”

Upper Myagdi transmition line notice

कोतघर संरक्षण तथा ब्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुईमा इटा राख्ने काम सकिएको बताउनुभयो । यसअघि उपयोगबिहिन रहेको सो जग्गामा बालबालिका खेल्न र जेष्ठ नागरिकहरुलाई टहलिन मिल्ने गरि पूर्बाधार बनाइएको छ ।

Annapurna aarohan ko notice

साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपभोगी हुने देखिएको छ । बि.स. १६३१ देखि नेपाल एकिकरण नहुँदासम्म ३४२ बर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो ।

प्रध्यापक कर्णबहादुर बानियाँद्धारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्बत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ । ऐतिहाँसिक महत्वका तोप, खुकुरी, तरबार लगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए ।

पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुननिर्माण गर्नुपर्ने स्थानीयबासी पदमबहादुर खत्रीले बताउनुभयो । कोतघरको संरक्षणसँगै त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरि पुननिर्माण गर्न लागिएको हो ।

यस कोतघरमा बडादशै र चैते दशैमा पुजाआजा तथा बली चढाउने गरिन्छ । कोतघरलाई पुननिर्माण र संरक्षण गर्न सकेमा बेनीमा भित्र्ने पर्यटकहरुका लागि आकर्षक गन्तब्य बनाउन सकिने सम्भावना देखिएको छ । म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकहरुको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...