

बेनी, १० जेठ ः कोरोना (भाइरस) रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदको समयको सदुपयोग गर्दै म्याग्दीको दरवाङका बासिन्दाले बजार संरक्षण योजनामा श्रमदान गरेका छन् ।
म्याग्दी नदीको कटानको चपेटामा रहेको मालिका गाउपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि स्थानीयबासीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै श्रमदान गरेका हुन् । दरवाङ बजारका विभिन्न टोलका बासिन्दाहरुले आलो पालो गरेर नदी नियन्त्रण योजनाका लागि ढुङ्गा संकलन र ढुवानी गर्न श्रमदान गरेका स्थानीय तिलकबहादुर सिंहले बताउनुभयो ।

“दरवाङ बजारलाई कोरोनासँगै कटानबाट जोगाउन मास्क लगाई सामाजिक दुरि कायम गरेर भिडभाड नगरि श्रमदान गरेका छौ,” उहाँले भन्नुभयो “बर्खा अगावै किनारमा जति सक्दो पर्खाल निर्माण गर्नुपर्ने दवाव भएकाले श्रमदान गरेर उपभोक्ता समितिलाई सघाएका हौ ।”

दरवाङमा रहेका ७ वटा टोल विकास समितिहरुको संयोजनमा तीन सय घरधुरीलाई आलोपालो गरेर श्रमदानमा परिचालन गरिएको छ । सबै घरधुरीले पछिल्लो एक हप्ता बिहानको समयमा दैनिक दुई÷दुई घण्टाका दरले नदी किनारमा ढुङ्गा संकलन गरेर निर्माण स्थलसम्म ढुवानी गरेका छन् ।
बाढी छेक्न निर्माणाधिन पक्कि पर्खालको पछाडीको खाडल पुर्न (ब्याकफिलीङ) गर्न र ग्यावीयन पर्खाल निर्माण गर्न बगरको ढुङ्गा संकलन गरिएको हो । ब्यापार ब्यवसाय गर्ने दरवाङका बासिन्दाहरु बन्दाबन्दीसँगै फुर्सदिला भएका छन् ।
चेतनशिल टोल विकास समितिका सदस्य मिनबहादुर सुनारले बन्दाबन्दीको परिपालनासँगै बजार संरक्षणका लागि श्रमदानमा जुटेको बताउनुभयो । “बर्षेनी म्याग्दी नदीमा आउने बाढीले बस्तितर्फ कटान गर्ने क्रम बढेकाले नियन्त्रणका लागि पक्कि पर्खाल बनाउन थालिएको छ,” उहाँले भन्नुभयो “दरवाङ बजारबासीलाई कोरोनासँगै कटानको पनि चिन्ता छ ।”
दरवाङ बजार संरक्षणका लागि चालु आर्थिक वर्ष २०७६÷७७ मा मालिका गाउपालिकाले रु. ५५ लाख र संघीय सांसद भुपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत रु. २५ लाख बिनियोजन भएको छ । उपभोक्ता समिति मार्फत सञ्चालित आयोजनामा स्थानीयबासीले रु. आठ लाख बराबरको श्रमदान गरिने अनुगमन समितिका संयोजक गोपाल गौतमले बताउनुभयो ।
नदी किनारमा ४५ मिटर लामो, ७ मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गर्ने काम पचास प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष मनोज सिउथानीले बताउनुभयो । नदीमा पानीको बहाव नबढ्दै काम सक्ने ढवाव परेकाले स्थानीय मजदुर परिचालनका साथै श्रमदान जुटाएर पर्खाल निर्माणमा तिब्रता दिएको उहाँले बताउनुभयो ।
