धौलागिरि खबर

बन्दाबन्दीमा गाउँ फर्किएका युवा सामुहिक खेतिमा

दुखुलेकमा बाझो जमिन खनजोत गर्दै युवाहरु । तस्बिर धौलागिरि खबर

दुखुलेक, १२ जेठ ः कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण गाउँमा फर्कीएका युवाहरुले बाझिएको जग्गामा झाडी फाडेर सामुहिक खेति सुरु गरेका छन् ।

म्याग्दीको मालिका गाउपालिका–६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यवसायिक कृषि सहकारी संस्थाले युवाहरुलाई परिचालन गरेर दलहन र गेडागुडी खेति गरेको हो । ६० रोपनीमा सिमि लगाइसकेका छन् । थप १६० रोपनीमा भटमास र गहत खेति गर्नका लागि युवाहरु खनजोतमा जुटेका छन् ।

Rara Auto Mobiels

वैदेशिक रोजगारी र बसाइसराईका कारण जनशक्ति अभाव हुँदा खेतियोग्य बारी बाझिएको थियो । लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेति गरिएको स्थानीय सर्गप्रसाद रोकाले बताउनुभयो । ‘‘१६ जना जग्गाधनीले दश वर्षका लागि खेति गर्न भाडा नलिने गरि जग्गा दिएका छन्,’’ उहाले भन्नुभयो ‘‘मान्छे भन्दा अग्लो, स्याल लुक्ने झाडी फाडेर खनजोत गरि गहत, सिमि र भटमास लगाएका छौ ।’’

बाझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो । झाडी फाड्न सहकारीले एक लाख २२ हजार रुपैया ज्याला दिएर १४८ जना बराबरको काम लगाएको थियो । छ हल गोरुलाई हली सहित दैनिक रु. एक हजार २०० दिएर छ दिन लगाएर बाँझो जोतिएको छ । झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौबाट आएका युवाहरु संलग्न छन् ।

बन्दाबन्दीपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाझो जोत्ने काम गरेको बताउनुभयो । बच्चा हुदादेखिनै बाझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकोमा दिपेश शेरपुजाले खुसी व्यक्त गर्नुभयो । दुखुमा ९८ घर छन् । आधा जसो बसाइसराई गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौ गएका छन् । उनिहरुले खेति गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन् ।

उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारि र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामुहिक खेति सुरु गरेको वडा सदस्य समेत रहेका स्थानीयबासी पथबहादुर रोकाले बताउनुभयो । कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमि, गहत र भटमास चर्चीत थियो । पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे । अहिले गाउमै सडक पुगेको छ । बजारको समस्या छैन् ।

उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताउनुभयो । कृषि उपज बजारीकरण गर्न दरवाङमा कोशेली घर स्थापना गरेको उहाले बताउनुभयो । मालिका गाउपालिकाले ७ वटै वडामा सम्भावनाको आधारमा “एक गाउँ, एक उत्पादन” कार्यक्रम सञ्चालन गरेको छ । हावापानी र भूगोल अनुसार फलफुल, तरकारी, दलहन, पशुपालन र जडिवुटी खेतिका लागि पकेट क्षेत्र बनाएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।

दुखुमा दलहन र टिम्मुर खेतिका लागि गाउपालिकाले चालू आर्थिक वर्षमा ६ लाख रुपैयाँ बिनियोजन गरेको उनले जानकारी दिनुभयो । ‘‘दिच्याममा किवी खेति सुरु गरिएको छ,’’ उहाले भन्नुभयो ‘‘ढाँडखर्कमा गोलभेडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ ।’’

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...