धौलागिरि खबर

नहर पुरिएपछि सिचाई अभाव

सडकबाट फालिएको माटोले पुरिएको नहर । तस्बिर धौलागिरि खबर

बेनी, ११ जेठ । म्याग्दीको मंगला गाउपालिका–२ सिम र कोत्रवाङमा सडक निर्माणका क्रममा नहर पुरिएपछि सिचाईमा समस्या भएको छ ।

बेनी–दरवाङ सडक अन्तरगत सिम देखि कुहुँ जोड्ने सडक विस्तारका क्रममा फालिएको माटोले भाइवाङखोला सिचाई आयोजनाको नहर पुरिएको हो । नहर पुरिदा सिम र कोत्रवाङको २५० रोपनी खेतमा सिचाई गर्न नपाएको सिमका बासिन्दा धु्रब केसीले बताउनुभयो ।

Rara Auto Mobiels

‘नहर पुरिएपछि मकैमा सिचाई गर्न र ब्याड राख्न पाएका छैनौ,’ उहाँले भन्नुभयो ‘नौ सय मुरी धान फल्ने खेत बाँझै बस्ने अवस्था आएको छ ।’ खडेरीले मकैका बोट सुक्न थालेको छ । ३० घरधुरी कृषक सिचाई अभावमा प्रभावित भएका छन् । सिम र कोत्रवाङ खाद्यबाली खेतिको उर्वर भूमि हो ।

भाइवाङखोलाबाट पानी ल्याउन प्रयोग गरिएका तीन वटा नहर छन् । तीन वटै नहर पुरिएका छन् । विभिन्न ठाउँमा करिब १५० मिटर नहर पुरिएको हो । गत वर्ष नहर पुरिएपछि टिन र पाइप मार्फत पानी तारेर सिचाई गरिएको थियो ।

बर्षेनी पुरिने नहर मर्मतका लागि उपभोक्ता समिति र गाउपालिकाले बेवास्ता गरेको कृषकहरुले गुनासो गरेका छन् । मंगला गाउपालिकाले सिम देखि कुहँु जोड्ने सडक फराकिलो बनाउने, ग्रेड मिलाउने र मोड सुधार गर्न योजना सञ्चालन गरेको छ ।

मंगला गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सडकबाट माटो खस्ने ठाउँमा नहरमाथि राख्न गत वर्षनै उपलब्ध गराइएको सल्याब (ढकनी) नराखीएकाले पुरिएको बताउनुभयो । ‘नहरमा राख्न पालिकाले दिएको ढकनी राख्नुभएको छैन,’ उहाँले भन्नुभयो ‘पाइपको माग गर्नुभएको थियो । उपलब्ध गराउने भनेका छौ ।’

गत वर्ष म्याग्दी नदीबाट पानी तान्ने मोटार उपलब्ध गराएको पनि थापाले बताउनुभयो । सिम र कोत्रवाङमा वि.स.२०५६मा ६६ लाख रुपैयाँ खर्चेर विश्व खाद्य कार्यक्रमले सिचाई आयोजना निर्माण गरेको थियो । कृषकहरुले नहरको पुननिर्माण गर्नुपर्ने बताएका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...