धौलागिरि खबर

म्याग्दीलाई किन बिपद् संकटग्रस्त क्षेत्र घोषणा भएन ? सांसद थापा भन्नुहुन्छ–म्याग्दी लगायत अन्य पहिरो प्रभावित जिल्लालाई बिभेद हुदैन

बेनी । म्याग्दीबाट निर्बाचित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरेपनि म्याग्दीका पहिरो प्रभावितले पाउने सुबिधा र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण, बस्ति संरक्षण तथा स्थानान्तरणका लागि बाडफाड हुने बजेटमा कुनै बिभेद नहुने बताउनुभएको छ ।

सरकारले मंगलबार सिन्धुपाल्चोक र बागलुङलाई मात्र विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेपछि म्याग्दीलाई छुटाएकोमा जिल्लाबासीले गुनासो तथा राजनीतिकर्मीहरुले असन्तुष्टि जनाएका छन् । पहिरोबाट ठूलो जनधनको क्षति ब्यहोरेको म्याग्दीलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरेकोमा जनप्रतिनिधि र सरकारको आलोचना भैरहेको छ ।

सांसद थापाले बुधबार धौलागिरी खबरसँगको कुराकानीमा विश्व बैंकसँग ऋण अनुदान लिनका लागि उसको सर्त अनुसार दुई जिल्लालाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेपनि बाढी र पहिरोबाट प्रभावित म्याग्दी जिल्लाले पाउने सुबिधा समान हुने प्रतिक्रिया दिदै भ्रममा नपर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

गृह मन्त्रालय अन्तरगतको विपद् अध्ययन, जोखिम न्युनीकरण तथा पुनलाभ शाखाका प्रमुख अनिल पोखरेलले सिन्धुपाल्चोक र बागलुङकै अनुपातमा अन्य बाढी पहिरोबाट प्रभावित जिल्लाहरुले बजेट र प्रभावितहरुले सरकारले उपलब्ध गराउने सुबिधा पाउने बताएको सांसद थापाको भनाई छ ।

“म्याग्दीलाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न पहल गरेका थियौ तर विभिन्न मापदण्ड र सर्तका कारण नपरेको हुन सक्छ,” सांसद थापाले भन्नुभयो “विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका र अन्य बाढीपहिरोग्रस्त जिल्लालाई कुनै बिभेद हुदैन् । भ्रममा नपर्न अनुरोध गर्दछु ।”

म्याग्दीका विभिन्न ठाउँमा बाढी पहिरोबाट ३१ जनाको मृत्यु र ५ जना बेपत्ता छन भने सडक, खानेपानी, निजी घर, सार्वजनिक भवन लगायत सँयौ भौतिक संरचना नष्ट भएको छ । खेतियोग्य जमिन बगर बनेको छ । एक हजार भन्दा बढी घर पहिरो, कटान र बाढीको जोखिममा छन् ।

सरकारले पहिरोबाट भत्किएका निजी घर सुरक्षित स्थानमा स्थानान्तरणका लागि अनुदान दिने घोषणा गरेको छ । सहरी विकास मन्त्रालयको कार्यबिधिअनुसार खानी तथा भूगर्भ विभागको टोलीबाट जोखिमयुक्त बस्तीको अध्ययन गर्न पहल गरिएको समेत सांसद थापाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...