धौलागिरि खबर

रितुङ माविको भवन स्थानान्तरण र पुननिर्माण

घ्यासीखर्क . म्याग्दीको रघुगंगा गाउपालिका–८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ ।

रघुगंगा नदीमा आएको बाढीले क्षतिग्रस्त बिद्यालयको भवन स्थानान्तरण गरेर पुननिर्माण गरिएको हो । रघुगंगा नदीको दायाँ किनारमा रहेको बिद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्क स्थित बाँया किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

वि.स. २०७५ भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले कटान गरेर रितुङ माबिको ८ कोठे भवन बगाएको थियो । नदी कटानका कारण जग्गा करिब छ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताउनुभयो ।

Rara Auto Mobiels

“नयाँ ठाउँमा जग्गा किनेर भवन पुननिर्माण गरेका हौ,” प्रअ छन्त्यालले भन्नुभयो “पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो ।” विद्यालय स्थानान्तरणका लागि ९ रोपनी जग्गा खदिर गरेको छ ।

आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी रु. २ लाख ५० हजारका दरले जग्गा खरिद गरिएको वडा अध्यक्ष समेत रहनुभएका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो ।

सोही जग्गामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र रघुगंगा गाउपालिकाको सहयोगमा तीन वटा दुई तले १२ कोठे भवन निर्माण भएको छ । प्राधिकरणको रु. एक करोड ४० लाख अनुदानमा चार÷चार कोठे दुई वटा भवन निर्माण भएको छ ।

अर्को ४ कोठे भवन निर्माणका लागि गाँउपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा रु. ३० लाख र आर्थिक वर्ष २०७६÷७७ मा रु. १६ लाख अनुदान सहयोग गरेको थियो । प्रवासमा रहेका कुइनेमंगलेबासीहरुले जुटाएर पठाएको रु. ९ लाख लागतमा कार्यालय प्रयोजनका लागि एक तले भवन निर्माण भएको छ ।

भवनका साथै छात्रामैत्री शौचालय समेत निर्माण भएको छ । नयाँ भवन निर्माण भएको ठाउँमा नदी कटान नियन्त्रण, घेराबार र सुरक्षित खानेपानी योजनाको माग गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो ।

कक्षा १० सम्म पठनपाठन हुने बिद्यालयमा ११५ जना बिद्यार्थी छन् । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित सो बिद्यालयका तीन जना शिक्षकलाई निजी स्रोतबाट तलब ब्यवस्थापन गरिदै आएको छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...