धौलागिरि खबर

मालिका गाउपालिकाद्धारा बजार अनुगमन

म्याग्दी । म्याग्दीको मालिका गाँउपालिकाले बजार अनुगमन गरेको छ । गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालुको नेतृत्वमा कर्मचारी, इलाका प्रहरी कार्यालय दरवाङ, उद्योग बाणिज्य संघ मालिका इकाईका प्रतिनिधिको टोलीले ५ दिन सम्म पालिकाको बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको हो ।

गाँउपालिकाको केन्द्र दरवाङ, रातोढुङ्गा, फुलबारी, अदिभारा, थापाचौर र फेदीमा सञ्चालित २३३ वटा सबै किसिमका पसलहरुको अनुगमन गरिएको अनुगमनमा सहभागि प्रशासन शाखाका अधिकृत अर्जुन सुबेदीले जानकारी दिनुभयो ।

टोलीले म्याद नाघेका खाद्यबस्तु डिलरलाई फिर्ता पठाउन, ब्यवसाय दर्ता गर्न, मूल्यसूचि राख्न र सरसफाई कायम गर्न सुझाव दिएको छ । अधिकांश पसलहरु दर्ता भएको र केही पसलमा म्याद नाघेका मसला, बिस्कुट, पेय पदार्थ भेटिएकाले डिलरलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

ब्यवसायलाई दर्ता गराई कर र कानुनको दायरामा ल्याउने, अखाद्य बस्तुको बिक्री बितरण हुन नदिने तथा सचेत गराउने उद्देश्यले बजार अनुगमन गरिएको उपाध्यक्ष बिटालुले बताउनुभयो । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ ले बजार अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...