धौलागिरि खबर

एनआरएनए न्युजील्याडका अध्यक्ष केसीद्धारा २५ लाखको अक्षयकोष

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविमा एक जना पुर्व बिद्यार्थीले हजुरआमाको नाममा २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

सुर्केमेला घर भई न्युजिल्याडमा रहनुभएका लालबहादुर केसीले हजुरआमा गौमती केसीको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो । केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याडको अध्यक्ष हुनुहुन्छ ।

२०७४ पुष ७ र ८ गते भएको पुर्व बिद्यार्थी, शिक्षक र अभिभावकहरुको पुनमिलन समारोहमा केसीले अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको थियो । घोषणा अनुसार केसीले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम उपलब्ध गराउनुभएको प्रअ डण्डपाणी सापकोटाले जानकारी दिनुभयो ।
सो अक्षयकोषको रकम कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन परिचालन गरिने प्रअ सापकोटाले बताउनुभयो । यसैगरी सिंगाका नरेन्द्र भट्टचनले छोरी इन्दुको नाममा पाँच लाख ५५ हजार ५५५ र हाल स्पेनमा रहनुभएका लालबहादुर खत्रीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

पुनमिलन समारोहको अबसरमा घोषणा गरिएको धवलागिरी मावि शिक्षा विकास कोषमा हालसम्म एक करोड दुई लाख रुपैयाँ संकलन भएको छ । बहिरा स्रोत कक्षा, कक्षा ११ र १२ सञ्चालनका साथै प्राबिधिक बिषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले कोष स्थापना गरेको ब्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा बहिरा स्रोत कक्षाका सहित २५० जना बिद्यार्थी छन् । ६ जना निजी स्रोतका शिक्षक छन् ।

प्रतिक्रिया दिनुहोस
Loading...