
बेनी । सोमबार रातीदेखि पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण बिभागको निर्देशन अनुसार म्याग्दीमा पहिरो तथा भूक्षयको जोखिम भएका र तटीय क्षेत्रमा सतकर्ता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।
पहिरोको जोखिममा भएका बासिन्दाहरुलाई सुरक्षित ठाउँमा जाने तयारी गर्न, तटीय क्षेत्रमा सतकर्ता अपनाउन र खोला किनारमा नजान प्रजिअ अधिकारीले आग्रह गर्नुभएको छ । जिल्लाका छ वटै पालिकाका पदाधीकारीहरुलाई पनि प्रशासनले पुर्वतयारी गर्न आग्रह गरेको छ ।
