धौलागिरि खबर

मदन पुरस्कार जितेको उपन्यास महारानीको समिक्षा

महारानी नबनेकी महारानी

लेखक राम लोहनी

उपन्यासको कथावस्तु

Rara Auto Mobiels

पृथ्वीनारायण शाहको समयभन्दा अगाडि पर्वतमा मलेबम मल्ल राजा थिए। घनश्याम मल्लको निधनपछि मलेबम राजा भएका थिए। छुट्टै राज्यका रूपमा पर्वतको उदय खस साम्राज्य टुक्रिएपछि भएको हो। त्यसअघि पर्वतमा मगरहरूको राज्य थियो र उनीहरू जुम्ला-अधीनस्थ थिए। बाइसी राज्यहरूमध्येको ठूलो र शक्तिशाली जुम्ला मलयबमपछि विघटन भएको थियो। अंश भागमा रुकुम मलयबमका माहिला छोरा पीताम्बरको हातमा आयो। वंशावलीअनुसार पर्वत, निसीभुजीका मगरहरूले पीताम्बरका नाति आनन्दबमलाई पर्वत ल्याई राजा थापेका थिए। आनन्दबमका नाति दिलीपबम उर्फ डिम्बको समयमा पर्वतको बिस्तार भएर बीस हजार पर्वत निर्माण भयो। डिम्बका नाति प्रतापीनारायणले छोराहरूलाई राज्य भाग लगाइदिएर माहिला छोरा राजबमलाई सोह्र हजार पर्वतको राजा बनाए। घनश्याम उनै राजबमको वंशका राजा थिए। जुम्लामा मेदिनीबमले, पाल्पामा मुकुन्द सेन (प्रथम)ले र कान्तिपुरमा यक्षमल्लले झैं राज्यलाई भाइअंश मानेर भागबन्डा लगाउने परम्पराको अर्को कडी थियो यो राज्यविभाजन पनि ।

तत्कालीन पर्वत राज्य हालको पर्वत जिल्लासहित बेनी र उत्तरपश्चिममा मुस्ताङसम्म फैलिएको थियो। खेती उब्जाउको उर्वरा भूमि उतिसारो नभए पनि मुस्ताङ हुँदै भोटसँगको व्यापार गर्ने मार्गका रूपमा पर्वतको महत्व थियो। व्यापारका अलावा पशुपालन पर्वतको अर्को आयस्रोत थियो। तामा र फलाम खानीले पर्वतको समृद्धिमा महत्वपूर्ण सहयोग गरेको थियो। पर्वतको इतिहासमा डिम्बपछिको प्रसिद्ध राजामा मलेबमको नाम आउँछ। मलेबम शासित पर्वतलाई ‘मलेबम पर्वत’ पनि भन्ने गरिन्थ्यो। राजा भएलगत्तै यिनले सौतेला भाइ भद्रीबम (भर्तीबम)को हत्या गरेको कुरा इतिहासमा उल्लेख छ।

भद्रीबमको हत्यापछि उनकी रानीले बेनीनजिक कुरिलाखर्कमा झुन्डिएर आत्महत्या गरेको र तिनै रानीकी एक बाहुनी सेविकाले पनि आत्महत्या गरेको भनाइ स्थानीय क्षेत्रमा प्रचलित छ। मलेबमले भद्रीको हत्या किन गरे, भद्रीबमकी रानी को थिइन् भन्नेबारे कुनै औपचारिक अभिलेख भने पाइएको छैन। बेनी क्षेत्रमै ‘कुरिलाखर्ककी महारानी’लाई धूप दिने, गोठ पूजामा भाग छुट्याउने र देवीका रूपमा पूजा गर्ने प्रचलन पनि विकसित भएको छ। यो परम्परा सुरु भएको लगभग सय वर्ष जति भएको बताइन्छ। पछिल्लो समय कुरिलाखर्कमा महारानीको मन्दिर पनि बनाइएको छ। तर यी महारानी को थिइन्, यिनी किन पुजिइन्, कसरी देवी भइन् जस्ता कुराको कुनै भरपर्दो जवाफ पाइएको छैन ।

महारानीको यही रहस्यलाई चन्द्रप्रकाश बानियाँले ‘महारानी’ उपन्यासमार्फत प्रकाश पार्ने प्रयास गरेका छन्। बानियाँले महारानीलाई राजा घनश्यामको उत्तराधिकारीलाई लिएर पर्वत दरबारमा भएको विवादसँग जोडेका छन्। घनश्यामले जेठी रानी लमजुङे राजकुमारी गुलबदनबाट लामो समयसम्म जायजन्म नभएपछि कान्छी रानीका रूपमा जुम्ली राजकुमारी जयन्तीलाई भित्याएका थिए। कान्छी रानी गर्भवती भएको केही समयपछि जेठी रानी पनि गर्भवती भइन्। गर्भवती कान्छी रानी जुम्लामा थिइन्। यता जेठी रानीले गर्भवती भएको सात महिनामै मेलबमलाई जन्म दिइन्। जुम्लामा रहेकी कान्छी रानीबाट त्यसपछि मात्र भद्रीबमको जन्म भयो। कान्छी पर्वत फर्किनन्, त्यहीँ उनको मृत्यु भयो। यता जन्मको जेठा भएका कारण मलेबमलाई युवराज घोषणा गरियो र विवाह गर्न देउपुर र खाँचीबाट राजकुमारीहरूको डोला पनि झिकाइयो। त्यही समय पर्वत आएका भद्रीबमले आफू गर्भको जेठो भएकाले युवराज हुनुपर्ने दाबी प्रस्तुत गरे। पर्वत दरबारमा उब्जेको गर्भको जेठो र जन्मको जेठोमध्ये जेठो हुने आधार कुन हो भन्ने मुद्दालाई उपन्यासले आधार बनाएको छ ।

उपन्यासले आजभन्दा तीन सय वर्षअघिको पर्वतको समाजलाई प्रस्तुत गरेको छ। कथाको पृष्ठभूमिको रूपमा तत्कालीन जनजीवन, न्यायव्यवस्था, रहनसहन, राजनीति आदिलाई चित्रण गरिएको छ ।

जन्मको जेठोलाई दरबारले आधार मानेपछि भद्रीले भाइअंश दाबी गरे। राज्य विभाजनलाई पनि दरबारको भारदारी सभाले अस्वीकार गर्‍यो। भद्रीले अन्तिम अस्त्रस्वरूप मलेबमसँग विवाह गर्न झिकाएकी देउपुरकी राजकुमारी विश्वप्रभा र जीविकोपार्जनका लागि राज्यलाई कर तिर्न नपर्ने जागिरको माग गरे। डोला झिकाइएकी दुई राजकुमारीमध्ये विश्वप्रभा मेलबम र सम्पूर्ण दरबारले रुचाइएकी राजकुमारी थिइन्। राज्य विभाजन जोगाउन विश्वप्रभालाई भद्रीसँग विवाह गराइयो र जागिरस्वरूप ज्याम्रिङकोट उपलब्ध पनि गराइयो। तर भद्रीले चित्त बुझाएनन्। जुम्लाका राजा भद्रीलाई पर्वतको उत्तराधिकारी बनाउन चाहन्थ्यो। त्यसैले, भद्रीको आडमा जुम्लाले पर्वतविरुद्ध योजना बनाइरह्यो।

करबलले भद्रीसँग विवाह गर्नु परेकी विश्वप्रभाले षड्यन्त्रको नालीबेली मलेबमलाई अवगत गराइन्। पर्वतले भावी युद्धबाट राज्यलाई जोगाउन षड्यन्त्रकारीहरूलाई बेलैमा सफाया गर्नुपर्ने निष्कर्ष निकाल्यो। पर्वते सेनाको कारबाहीमा भद्री र जुम्लाबाट भद्रीलाई सहयोग गर्न खटिएका जुम्लाका कमल जैसीको हत्या भयो। भद्रीको हत्यापछि विश्वप्रभा पर्वतमै बस्न थालिन्। दरबारले उनलाई पर्वतकी संरक्षक र महारानीको दर्जा दियो। उनी कुरिलाखर्कको पुरानो दरबारमा रहँदै आएकी थिइन्। त्यहीँबाट यिनी कसैलाई थाहै नदिई सन्न्यास ग्रहण गरेर विन्द्रावनतिर लागिन्। विश्वप्रभा बेपत्ता भएपछि गएको ठूलो भुइँचालोमा परी कुरिलाखर्क पहिरोमा भासियो। महारानीसँग सम्बन्धित धेरै कुरा पहिरोसँगै विलीन भयो। तर पर्वतवासीले महारानी विश्वप्रभालाई बिर्सन सकेनन्, पर्वतलाई जोगाउने देवीको कायाकल्प भयो। उक्त घटनाको लगभग दुई सय वर्षपछि महारानीलाई गोठपूजामा भाग दिन र धूप दिन पनि थालियो। यसप्रकार लेखकले स्थानीय समाजमा देवीका रूपमा प्रचलनमा रहेकी महारानी अरू कोही नभएर तिनै राजकुमारी विश्वप्रभा हुन् भन्ने सिद्ध गर्ने प्रयास गरेका छन् ।

उपन्यासले आजभन्दा तीन सय वर्षअघिको पर्वतको समाजलाई प्रस्तुत गरेको छ। कथाको पृष्ठभूमिको रूपमा तत्कालीन जनजीवन, न्यायव्यस्था, रहनसहन, राजनीति आदिलाई चित्रण गरिएको छ। घनश्यामले उदार, धार्मिक, प्रजावत्सल र विवेकी राजाको रूपमा पर्वतका जनताको विश्वास आर्जेको देखिन्छ। भारदारहरू पनि आफूभन्दा राज्यको लागि मरिमेट्ने प्रवृत्तिका थिए। दरबार विद्वान्हरूबाट विभूषित थियो। उपन्यासको परिवेशलाई जीवन्त तुल्याउन लेखकले पात्रहरूले बोल्ने भाषालाई प्राचीनता दिने प्रयास पनि गरेका छन् ।

बलिदानको कथा

डोलाका रूपमा झिकाइएकी भए पनि विवाहपूर्व नै मलेबम र विश्वप्रभाको बीच गहिरो प्रेम विकास भइसकेको थियो। मलेबमको प्रेमको गहिराइ बुझेरै भद्रीले विश्वप्रभालाई मागेका थिए। मलेबम विश्वप्रभाका लागि राज्याधिकार नै त्याग्न तयार थिए। तर पर्वतको भारदारी सभा मलेबमले पर्वतको गद्दी त्याग्दैमा पर्वत अक्षुण्ण रहन्छ भन्नेमा विश्वस्त हुन सकेन। भद्रीमार्फत पर्वतमा जुम्लाको आँखा गडेको थियो। त्यसैले भारदारहरू भद्रीलाई विश्वप्रभा सुम्पेरै भए पनि राज्य जोगाउने निष्कर्षमा पुगेका थिए। अर्काेतिर, मलेबमप्रति विश्वप्रभाको प्रेम पनि उत्तिकै थियो। आफ्नो कारण मलेबम राज्यबाट वञ्चित नहून् र पर्वत पनि विभाजन नहोओस् भनेर विश्वप्रभा भद्रीसँग विवाह गर्न राजी भइन्। विश्वप्रभाको भद्रीसँगको विवाह मलेबमप्रतिको प्रेमको उत्सर्ग थियो। विश्वप्रभाकै सूचनाका आधारमा पर्वत आक्रमणबाट पनि जोगियो। विश्वप्रभासँगको वियोगको कारण राजा भएपछि मलेबममा विक्षिप्तता देखिएको र स्वभावमा निरंकुशता हावी भएको संकेत उपन्यासले गरेको देखिन्छ। यसरी ‘महारानी’ उपन्यास त्याग र बलिदानले युक्त एउटा अमर प्रेमको दस्तावेज पनि बन्न पुगेको छ ।

केही महत्वपूर्ण प्रसंग

बेनी क्षेत्रमा प्रचलित महारानीलाई ऐतिहासिकता दिने मुख्य प्रयासमा उपन्यास केन्द्रित छ। साथसाथै समाजमा प्रचलित परस्पर विरोधी धारणाहरूमा उपन्यासकारले मलेबमप्रतिको नरम धारणालाई स्थापित गर्ने प्रयास गरेको भान हुन्छ। उपन्यासमा प्रचलित कथा र केही इतिहासकारले बताएजस्तो भद्रीलाई मलेबमले आफ्नै हातले हत्या गर्दैनन्। भद्रीकी रानीले पनि आत्महत्या गर्दिनन्। त्यस्तै रुकुमबाट पर्वत ल्याइएका आनन्दबमलाई पर्वतकै मगर वंशज भएको वैकल्पिक व्याख्या पनि उपन्यासको चाखलाग्दो प्रसंग हो। राजा डिम्बका छोरा नागबमको मल्ल उपाधि दिल्ली दरबारले दिएको इतिहासकारहरूको भनाइको विकल्पमा सो उपाधिलाई स्थानीय प्रतिस्पर्धामा विजय भएबापत प्राप्त भएको भन्ने उपन्यासको दाबी बढी भरपर्दो लाग्छ ।

उपन्यासले समाजमा प्रचलित कतिपय अविश्वसनीय किंवदन्तीहरूलाई तर्कसंगत तुल्याउने प्रयास पनि गरेको छ। इतिहासकारहरूले पर्वतको राजपरिवारलाई बेलाबेला वैष्णव, शाक्त वा शैवमतबाट प्रभावित भन्दै गरेका विवेचनाहरू उपन्यासले उल्लेख गरेका किंवदन्तीहरूको सापेक्षमा हचुवा लाग्छन्। उदाहरणका लागि ढोलठानास्थित जगन्नाथको मन्दिर राजा डिम्बले वैष्णव विचारबाट प्रभावित भएर स्थापना गरेका होइनन् भन्ने प्रस्ट हुन्छ। त्यसैगरी पाल्पाबाट बागलुङ ल्याइएकी कालिका पनि शाक्त मतको प्रभावको परिणाम होइन भन्ने बुझिन्छ। ढोलठानाको जगन्नाथलाई भन्दा डिम्बको समाधिलाई पहिले पुजिने परम्पराप्रति उपन्यासकारले विमर्श गरेका त छैनन्, तर पितृपूजा पहिले गर्ने र देवी देवताको मन्दिर भनेर मौलो, किलोको पूजा गर्ने पर्वत राजपरिवारको परम्परा उल्लेखनीय देखिन्छ ।

उपन्यासले जनै नलगाउनेहरूले जनै लगाएर क्षेत्री, ठकुरी भएको किंवदन्तीलाई पनि प्रकाशित गरेको छ। नेपालका शाह राजाहरूको पुर्खाको बारेमा हुने गरेको बहसलाई लोकमा प्रचलित यस कथाले प्रभावित तुल्याउन सक्छ। प्रारम्भमा जुम्लाका खसहरूले जनै लगाएर क्षेत्री भएका र उनीहरूसँग बिहाबारी गरिने परम्परा धान्न मगरहरूलाई पनि जनै धारण गर्नुपर्ने दबाब पर्‍यो। त्यसकै पहिलो खुड्किलोस्वरूप पर्वतको मगर राजाको परिवारले जनै धारण गरेको प्रसंग उप्काएर उपन्यासले लोकवार्ता पनि इतिहासको विवेचनाको महत्वपूर्ण अंग हुन सक्ने तथ्य अघि सारेको छ ।

ऐतिहासिक तथ्यको सापेक्षमा

ऐतिहासिक विषयमा आख्यान तयार पार्दा ऐतिहासिक रूपले सिद्ध तथ्यहरूको ठूलो भूमिका हुन्छ। ‘महारानी’ उपन्यासमा केही ऐतिहासिक तिथिमितिमा तलबितल परेको देखिन्छ। लेखक बानियाँका अनुसार उपन्यासको मुख्य द्वन्द्व वि.सं. १७७० देखि १७७४ को बीचको हो। तर प्रकाशित ऐतिहासिक तथ्यहरूले यसको समर्थन गर्दैनन्। तथ्यअनुसार वि.सं. १७४३ मा राजा घनश्यामको मृत्यु भएपछि मलेबम राजा भएका हुन्। मलेबम राजा भएको केही समयमै भद्रीको हत्या भएको र भाइको हत्याको पश्चात्तापस्वरूप मलेबमले १७५४ मा शिवालय स्थापना गरेका थिए। उपन्यासको कथाअनुसार विश्वप्रभा बेपत्ता भएकै वर्षको भदौ महिनामा ठूलो भुइँचालो गएको थियो र सो भुइँचालोको कारण कुरिलाखर्क क्षेत्र ठूलो पहिरोमा परी तहसनहस भएको थियो। भुइँचालो भौगर्भिक घटना भएकाले यसको तथ्य पनि पुष्टि हुनु जरुरी हुन्छ। भौगर्भिक रेकर्डअनुसार १७२० जुलाई तदनुसार १७७७ साउनतिर भारतको उत्तर प्रदेश केन्द्रबिन्दु भएर ७.५ म्याग्निच्युडको भुइँचालो गएको देखिन्छ।

लेखकको दाबीअनुसार कथा १७७४ तिरको हो भने भुइँचालोको घटनासँग मिल्न सक्ने पनि देखियो। तर घनश्यामको समय र अन्य घटनासँग यो तथ्य मिलेको देखिँदैन। त्यस्तै बेनीको दरबारलाई उपन्यासकारले राजा घनश्यामले बनाएको बताएका छन्। तर मोहनबहादुर मल्लका अनुसार सो दरबार मलेबमले १७६१ मा बनाउन लगाएका हुन्। अर्का इतिहासकार टेकबहादुर श्रेष्ठले पनि मल्लको भनाइकै समर्थन गरेका छन्। महारानी विश्वप्रभा भद्रीबमको हत्या भएपछि तीस वर्ष जति कुरिलाखर्कमै बसेर जीवनको उत्तराद्र्धमा मात्र बेपत्ता भएकी हुन् भने इतिहासको तथ्यसँग उपन्यासका घटनाको तादात्म्यता हुन सक्छ ।

त्यसैगरी जुम्लाका राजाको नाममा पनि उपन्यासको प्रसंग ऐतिहासिक तथ्यसँग बाझिएको छ। उपन्यासका अनुसार राजा घनश्यामले विवाह गरेकी जुम्ली राजकुमारी राजा पृथ्वीपति शाहीकी छोरी हुन्। तर सूर्यमणि अधिकारी आदि इतिहासकारका अनुसार पृथ्वीपति शाही १७६१ पछि मात्र राजा भएका देखिन्छन्, जब कि राजा घनश्यामको १७४३ मै मृत्यु भइसकेको थियो। योगी नरहरिनाथको संकलनमा परेको एउटा पत्रअनुसार घनश्यामले विवाह गरेकी राजकुमारी वीरभद्र शाहीकी छोरी हुन्। यी राजकुमारी वीरभद्रका भैयाद जँहागिर शाहीकी छोरी थिइन् भन्ने पनि बताइन्छ। सूर्यमणि अधिकारीका अनुसार पृथ्वीपति शाही वीरभद्र शाहीका छोरा हुन् ।

ऐतिहासिक तथ्यबाहेक उपन्यासमा भाषाको सवालमा पनि केही समस्या देखिन्छ। पर्वते भाषा वर्तमान नेपालीको सिँजापछिको दोस्रो पुर्खा हो। तर उपन्यासको संवादमा पर्वते भाषा भनेर प्रयुक्त स्वरूपले त्यो कालको भाषालाई प्रतिनिधित्व गरेको देखिँदैन। तत्कालीन समयमा पर्वत क्षेत्रमा बोलिने भाषा भनिसकेपछि अभिव्यक्तिमा त्यसको प्रतिविम्ब अपेक्षा हुन्छ। दरबारी भाषिकालाई बुझाउन हिजोआज चल्तीमा आएका क्रियापदका स्वरूपलाई स्थान दिइएको छ। उपन्यासमा सुमन्तले कमल जैसी र भद्रीले जुम्ली भाषामा गरेको कुरा आफूले सुने पनि नबुझ्ने ठहर गरेको कुरा परेको छ। यसको अर्थ हो, जुम्ला र पर्वतको भाषा फरक थियो। यो परिप्रेक्ष्यमा जुम्लाबाट पहिलो पटक पर्वत आएको भद्रीले मात्र होइन, डोला झिकाइएका राजकुमारीहरूले पनि पर्वतको भाषा सजिलै कसरी बोले होलान् भन्ने जिज्ञासा पाठकलाई लाग्न सक्छ ।

उपन्यासमा सम्पादन र हिज्जेसम्बन्धी समस्या उल्लेखनीय रूपमै देखिन्छन्। एउटै शब्दको फरक फरक हिज्जे फेला पर्छन्। तथ्यहरू परस्पर काटिएका छन्। जस्तो कि, रनीबासमा राजाबाहेक युवराजसमेत जान नपाउने भन्दाभन्दै युवराज मलेबम, राजकुमार भद्रीबम मात्र होइन, भारदार सुमन्त पनि पुगेको देखिन्छ। पर्वतको पुरानो मुकाम ताकमबाट ढोलठाना सारिएको हो कि पुला भन्नेमा उपन्यासमा परस्पर विरोधी प्रसंग भेटिन्छन्। अनपढ जनताका भाषा र अभिव्यक्तिसमेत परिस्कृत छन्। रतन बानियाँलाई सुमन्त बानियाँको बराजु बताइएको छ, जब कि उनीहरूबीच डेढ सय वर्षभन्दा बढीको फरक बुझिन्छ। तत्कालीन पर्वतमा शाके संवत्को अनुसरण हुन्थ्यो भन्ने नखुल्दा उपन्यासमा भएका मितिहरूको बुझाइमा अलमल हुन सक्छ ।

अन्त्यमा,

उपन्यासको कथानक रोचक छ। भाषिक प्रवाह र एकपछि अर्को घटनाहरूको क्रमिक प्रकटीकरणले पाठकलाई बाँधिराख्छ। किंवदन्ती र कथाहरूमा छरिएर रहेको तीन सय वर्षअगाडिको समाजलाई उपन्यासले पुनर्जीवन दिएको छ। उपन्यासले महारानीका बारेमा गरेको निक्र्योल तर्कसंगत देखिन्छ। सुमन्त, घनश्याम, रानी गुलवदन, कमल जैसी, भद्रीबम, विश्वप्रभा जस्ता पात्रहरू जीवन्त लाग्छन्। परिवेशको वर्णन भाषाशास्त्रीय र लालित्यपूर्ण छन्। उखानहरूको यथेष्ट प्रयोगले उपन्यासको मिठासलाई समृद्ध पारेको छ। ऐतिहासिक आख्यानले सिद्ध तथ्यहरूलाई जोडेर इतिहासको एउटा सम्भावित ‘न्यारेसन’ दिन सक्नुपर्छ। यो कोणबाट विचार गर्दा ‘महारानी’ उपन्यास नेपाली साहित्यको एउटा उल्लेखनीय उपलब्धि ठहर्छ । अन्नपूर्ण पोष्ट डटकमबाट साभार

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...