धौलागिरि खबर

म्याग्देली साहित्यकार बानियाको ‘महारानी’ले पायो मदन पुरस्कार

बेनी । म्याग्देली साहित्यकार चन्द्रप्रकाश बानियाले लेख्नुभएको उपन्यास ‘महारानी’ले यस वर्षको मदन पुरस्कार पाएको छ ।

नेपाली साहित्य क्षेत्रमा मदन पुरस्कार सबैभन्दा ठूलो र प्रतिष्ठित मानिन्छ । मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका लागि छनोट भएका थिए । त्यसमध्ये महारानीलाई पुरस्कार दिने निर्णय भएको हो । म्याग्दीबाट निर्वाचित पुर्व सांसद समेत रहनुभएका बानियाले लेख्नुभएको महारानी उपन्यासमा तत्कालीन बाइसे चौबिसे राज्य कालमा साना राज्यबिच हुने खिचातानी देखि त्यसबेलाका महिलाको संवेदनशील र कारुणिक अवस्थाको चित्रण गरिएको छ ।

Rara Auto Mobiels

त्यसैगरी गुठीले प्रदान गर्ने जगदम्बा श्री पुरस्कार संगितकार शान्ति ठटाललाई दिने निर्णय भएको छ । यसअघि गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो । जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए ।

गुठीले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै पुरस्कार वितरण समारोहको विवरण पछि सार्वजनिक गर्ने बताएको छ । २०१२ सालमा स्थापित गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

गुठीले २०४५ सालमा रानी जगदम्बाको मृत्युपछि उनको सम्झना स्वरुप जगदम्बा(श्री पुरस्कारको स्थापना गरेको हो । यो पुरस्कार पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...