धौलागिरि खबर

मिस्ट्री खोलाको साधारण सेयर निष्कासन

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रखोला जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन भएको छ ।

४२ मेगावाट क्षमताको मिस्ट्री र नुवाकोट स्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकै पटक १९ लाख ६८ हजार २७ कित्ता सेयर निश्कासन भएको हो । दुई वटै आयोजनाको प्रर्वद्धक माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम १० देखि अधिकतम २० हजार कित्ता शेयर खरिद गर्न पाउने माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले जानकारी दिनुभयो । “गत साउन ८ गतेदेखि सेयर निष्काशन गर्ने भनिएकोमा बाढी र पहिरोका कारण सर्बसाधारणलाई बैंकमा जान आउन समस्या भएपछि स्थगित भएको थियो,” उहाले भन्नुभयो “भदौ ३१ गतेदेखि निस्काशन भएको सेयर छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म बन्द हुनेछ ।”

Rara Auto Mobiels

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कुल लागतको दश प्रतिशत शेयर निस्काशन गरेको हो । मिस्ट्रीखोला निर्माण स्थल नारच्याङ र तादी खोला (थप्रेक) जलविद्युत आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउपालिकाका बासिन्दाका लागि चालीस र म्याग्दीको अन्नपूर्ण गाउपालिकाका बासिन्दाका लागि साठी प्रतिशत शेयर निस्काशन गरेको हो ।

कुल रु. १९ करोड ६८ लाख दुई हजार ७०० मूल्य बराबरको सेयर निश्काशन भएको छ । नारच्याङ र अन्नपूर्ण गाउपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपिओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

मिस्ट्रीखोलाको ९८ प्रतिशत निर्माण सकिएको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताउनुभयो । “बाँध र पेनस्टकको काम सकिएको छ,” उहाले भन्नुभयो “पावर हाउसमा जडान भएका उपकरणको परिक्षण र टनेलको बाँकी काम अन्तिम चरणमा पुगेको छ ।”
सन. २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरेको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो ।

पहाड भित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भूमिगत पानी थिग्राउने पोखरी (क्यानल) बनाएको छ । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान भएको छ ।
आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ । रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमती) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो ।
मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...