धौलागिरि खबर

कोरोनाको जोखिम र बाढी पहिरोका बाबजुद राहुघाट जलबिद्युत निर्माण धमाधम

पिप्ले । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (भाइरस)को जोखिम, रोकथामका लागि गरिएको लकडाउन, निषेधाज्ञा र बाढी पहिरोको समस्याका बावजुद म्याग्दीको राहुघाट जलबिद्युत आयोजना निर्माण कार्य धमाधम भैरहेको छ ।

नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको तीन वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) लकडाउन र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ ।

महामारी र प्राकृतिक बिपद्का बावजुद सुरक्षा सतर्कता, निर्माण सामग्री र उपकरणको ब्यवस्थापनका साथै सरोकारवालाहरुसँग समन्वय गरेर आयोजना निर्माणलाई निरन्तरता दिइएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयोे ।

Rara Auto Mobiels

“ठेकेदार कम्पनीका भारतीय मजदुर र कर्मचारीहरुलाई लकडाउनको समयमा पनि यही काम गर्ने बातावरण बनाएर आयोजनालाई निरन्तरता दिएका थियौ,” उहाँले भन्नुभयो “लकडाउन सुरु भएयता तीन वटा अडिट सकेर मुख्य सुरुङ खन्ने काम सुरु भएको छ ।”

बुक्लको पहिरोले रघुगंगा गाउपालिका–४ दग्नाम र ५ झिँ को सिमानामा बन्ने बाँध जोड्ने सडक अवरुद्ध भएपनि ठेकेदार कम्पनी जेपी एसोसियट्सले त्यही भएका उपकरण प्रयोग गरेर प्रारम्भिक चरणको काम गरिरहेको छ । गलेश्वरको राहुघाट नदीको बेलिब्रिज बाढीले बगाएको अवस्थामा पनि सुरुङ खन्ने कामलाई निरन्तरता दिएको थियो ।

सिभिल तर्फ १८ र इलेक्ट्रोमेकानिकल तर्फ दश प्रतिशत भौतिक प्रगति भएको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो । पिप्ले स्थित ३२७ मिटर अडित सकेर पेनस्टक राख्ने ठाउँतर्फ ६८ मिटर, पावरहाउसतर्फ २८ मिटर र अडित २ तर्फ ५० मिटर मुख्य सुरुङ खनिसकेको छ ।

पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३२ मिटर गहिरो खनिसकिएको छ । अधेरीखोला स्थित १८० मिटर लामो अडित २ सकेर बाँधतर्फ १५९ मिटर र पावरहाउस अडित ३ तर्फ ८८ मिटर मुख्य सुरुङ खनेको छ ।

पावर हाउस रहने तिल्केनीचौरमा ९१ मिटर लामो अडित ४ को सुरुङ खनिसकेको छ । बाँध रहने ठाउँमा बन्ने अडित १ को पोर्टल (सुरुङ खन्ने ठाउँ) तयार बनाएको छ । बाँधतर्फ जाने बाटोमा पर्ने झिँ र दग्नामको सिमाना बुक्लमा राहुघाट नदीमाथि ४० मिटर लामो मोटर चल्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

सामाजिक उत्तरदायीत्व अन्तरगत झिँ हुदै मौवाफाँट जोड्ने सडकको करिब ७ किलोमिटर मार्ग (ट्याक) खनिसकेको छ । रघुगंगा हाइड्रोको २० लाख रुपैयाँ सहयोगमा गाउपालिकाले उपभोक्ता समिति मार्फत झिँको माईथानदेखी ढाडखर्क सम्म जोड्ने सडकको ट्याक निर्माण भएको छ ।

बुक्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवत जावतलाई निरन्तरता दिएको छ । बुक्लको पहिरोले बाँधतर्फको कामलाई केही मात्रामा प्रभावित बनाएको छ । विद्युतगृह निर्माण स्थलको पाखोबाट खस्न थालेको पहिरोले पनि असर गरेको छ । सिभिल ठेकेदारका ४५० जना मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् ।

चैत ११ देखि दुई हप्तासम्म आयोजनाको काम रोकीएको थियो । काम नहुदा मजदुरहरु क्याम्पमा बसेका थिए । २०७४ मंसिर ५ गते छ अर्ब रुपैयामा सम्झौता गरेको जेपीले रघुगंगा गाउपालिकामा सुरुङ, पहुँचमार्ग, विद्युतगृह र बाँध निर्माणको काम गरिरहेको छ । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो ।

४५ महिनाको ठेक्का अवधि भएको आयोजनाको ३१ महिना पुरा भएको छ । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । घुमाउनेताल देखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाएको छ ।

एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ । कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो ।

२०७३ मा स्थापना भएको रघुगंगा हाइड्रो लिमिटेड विद्युत प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

२०७२ मा पुरानो ठेक्का तोडेपछि रोकीएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट सुरु भएको थियो । राहुघाट जलबिद्युत आयोजनामा उत्पादन हुने बिद्युत नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय लाइनमा जोड्ने योजना छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...