धौलागिरि खबर

पालिकाको सेवा वडाबाटै

कुइनेमंगले, । म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्रबाट हुने सेवा प्रवाहलाई वडा स्तरबाट दिन थालेको छ ।

भौगोलिक रुपमा दुर्गम र बिकट क्षेत्रका सर्बसाधारणको सहजताका लागि वडामै पुगेर पालिकाको सेवा दिन थालेको हो । जनप्रतिनिधि र कर्मचारीहरुको टोली वडामै पुगेर योजना सम्झौता, जेष्ठ नागरिक, अपाङ्ग परिचयपत्र, ब्यवसाय दर्ता र सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको बैंकमा खाता खोल्न थालेको गाउँपालिकाले जनाएको छ ।

बिहीबार र शुक्रबार वडा न. ८ कुइनेमंगलेको घ्याँसीखर्कमा घुम्ति शिविर सञ्चालन गरेर करिब डेढ सय जनालाई गाउँमै सेवा दिएको छ । दुर्गम र बिकट क्षेत्रका नागरिकलाई घरदैलोमै सरकार आएको अनुभूति दिलाउन तथा पालिकाको सेवामा सहज पहुँच बढाउन वडामै पुगेर सेवा दिने ब्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

गाउपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले टेकबिर कामी र उपाध्यक्ष कमला तिलिजाले कर्णबहादुर घिमिरेलाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरेर सेवाको सुरुवात गर्नुभएको थियो । वडाबाटै सेवा पाउँदा पालिकामा जान, आउन हुने समय तथा आर्थिक बचत हुनुका साथै झञ्जट मुक्त भएको स्थानीयबासीले बताएका छन् ।

यसअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयले जारी गरेको परिचयपत्र खिचेर पालिकाको परिचयपत्र उपलब्ध गराइएको हो । चालू आर्थिक वर्षको पहिलो चौमासिकबाट बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सम्झौता गरेको प्रभु बैंकको रघुगंगा शाखाका कर्मचारीहरु पनि सँगै गएर लाभग्राहीको खाता खोलेका थिए ।

कोरोनाको जोखिमलाई ध्यानमा राखेर भौतिक दुरि कायम, स्वास्थ्य सुरक्षा सतकर्ता अपनाएर सेवा दिइएको गाँउपालिकाले जनाएको छ । घुम्ति शिविरको क्रममा चालू आर्थिक बर्षमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिसँग सम्झौता समेत गरिने प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

पहिलो चरणमा कुइनेमंगलेसँगै चिमखोलामा पनि घुम्ति शिविर सञ्चालन गर्ने जनाएको छ । पालिकाको केन्द्र रहेको वडा न. ३ बाहेक अन्य वडामै पुगेर सेवा दिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...