धौलागिरि खबर

मालिकामा कोरोना रोकथाममा ५७ लाख खर्च

दरवाङ। म्याग्दीको मालिका गाँउपालिकाले गत आर्थिक वर्षमा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा भएको आम्दानी खर्च बिवरण सार्वजनिक गरेको छ ।

९१ लाख ९९ हजार ५७० रुपैयाँ आम्दानी, ५७ लाख ३९ हजार २४३ रुपैयाँ खर्च र ३४ लाख ६० हजार ३२७ रुपैयाँ खर्च भएको गाँउपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुर्य बिश्वकर्माका अनुसार कोरोना कोषमा ८० लाख रुपैया बिनियोजन गरेको मालिकालाई प्रदेश सरकारले पाँच लाख पठाएको थियो ।

गाँउपालिकाका कर्मचारीहरुबाट एक लाख २४ हजार ७३५, शिक्षकहरुबाट पाँच लाख २९ हजार ८३५, उन्नति लघुबित्तले २५ हजार, सुर्योदय लघुबित्तले दश हजार र धौलागिरी लघुबित्तले दश हजार रुपैयाँ सहयोग गरेका थिए ।

सबैभन्दा बढी कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण रोजगारी गुमाएका विपन्नलाई वितरण गरिने खाद्यान्न राहत खरिदमा ३४ लाख ५० हजार ४५९ रुपैयाँ खर्च भएको छ । सात वटा वडाका दुई हजार ८६ घरधुरीलाई बितरण गरिने खाद्यान्न ढुवानी गर्न ४९ हजार १००, ढुवानी गर्ने ट्याक्टरमा इन्धन तथा वितरण गर्न गएका कर्मचारी र जनप्रतिनिधिको खाजा खाचा खर्च तथा गाडी भाडामा एक लाख २१ हजार ९५० रुपैयाँ खर्च भएको छ ।

सात लाख १५ हजार ७७५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेको, सोलेडाडाको चेकपोष्टमा खटिएका प्रहरीको खाना र खाजामा ८३ हजार ७२०, स्वयमसेवकको पारिश्रमिकमा एक लाख ९० हजार ४००, बेनीको क्वारेन्टिनमा बसेकाको खाजा तथा खानामा एक लाख पचास हजार असी, गाउपालिकाको क्वारेन्टिन ब्यवस्थापनमा ६० हजार ५२२, सन्देशमुलक भित्तेलेखनमा तीस हजार, मालिकाका मजदुर तथा अलपत्र नागरिकको उद्धारमा यातायात वापत छ लाख ३७ हजार ७८७ रुपैयाँ खर्च भएको छ । बेनी अस्पताललाई आइसोलेशन बनाउन दुई लाख पचास हजार उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...