धौलागिरि खबर

दरवाङ–बिम सडक मर्मत सकियो

बेनी,। मालिका गाउपालिकाको केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट अति प्रभावित सोही पालिकाको वडा न. ७ बिम जोड्ने सडक मर्मत सकिएको छ ।

असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोका कारण दर्जनौ ठाउँमा पहिरो र बाढीले बगाएपछि दरवाङ देखि बिम र धवलागिरी गाउपालिकाको मराङ जोड्ने सडक अवरुद्ध बनेको थियो ।
जिल्ला समन्वय समितिले गाउपालिका मार्फत उपलब्ध गराएको बजेटबाट दरवाङ देखि खारा, लुरवाङ हुदै बिमको तल्लो गाउँसम्म सडक मर्मत गरिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो ।

“पहिरो पन्छाउने, ग्याबीयन पर्खाल लगाउने र कतिपय ठाउँमा नयाँ ट्याक खोलेर वडा कार्यालय भएको बिमको तल्लो गाउँसम्म मर्मत सकिएको छ,” उहाँले भन्नुभयो “अन्य बस्ति जोड्ने सडक मर्मतलाई पनि निरन्तरता दिन्छौ ।”

पहिरो लगत्तै सुरु गरिएको सडक मर्मत गर्न करिब डेढ महिना लागेको हो । दुई महिनापछि सडक सञ्चालन भएको छ । कोरोनाको जोखिमका बिच एक्साभेटरका साथै स्थानीय मजदुरलाई स्वास्थ्य सतर्कता अपनाएर सडक मर्मतमा परिचालन गरिएको थियो ।

गाउपालिकाका प्राबिधिक सडक मर्मत स्थलमा नियमित खटिएका छन् । सडक मर्मत योजनाबाट स्थानीयलाई रोजगारीको अवसर सिर्जना भएको छ । दैनिक उपभोग्य, निर्माण, राहत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएका कृषि उपज निकासी गर्न सहज हुने अपेक्षा गरिएको छ ।

दश वर्षअघि ट्याक खोलिएको ९ किलोमिटर दुरीको दरबाङ–बिम सडकलाई तत्कालीन जिबिसले नमुना आयोजनाको रुपमा उपभोक्ता समितिलाई पुरस्कृत गरेको थियो । बर्खा याममा समेत नियमित सवारी सञ्चालन हुने गरेको थियो । मालिका गाउपालिकाले यो सडक स्तरोन्नति योजनालाई निरन्तरता दिदै आएको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

मालिका र धवलागिरी गाउपालिकामा पहिरोले क्षति पु¥याएको सडक मर्मत गर्न पचास पचास लाख रुपैयाँ बिनियोजन गरिएकोमा पहिलो चरणमा तीस÷तीस लाख उपलब्ध गराइएको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

दरवाङ देखि धारापानी ताकम हुदै धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडक यसअघिनै मर्मत गरिएको थियो । बिमको लुरवाङ देखि मराङ जोड्ने सडकको दुले सम्मको सडक मर्मत सकिएको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

मराङ सम्म दसैअघिनै सवारी सञ्चालन गर्ने लक्ष्य सहित सडक मर्मतलाई तिब्रता दिएको उहाँले बताउनुभयो । पहिरोका कारण मराङमा १९ जना मृत्यु, २ जना बेपत्ता, बिममा ८ जना मृत्यु र एक जना बेपत्ता भएका थिए ।

सडक, बिद्युत, खानेपानी, सामुदायिक भवन, निजी आवास, खेतियोग्य जमिनमा पहिरोले क्षति पु¥याउँदा जनजिबन प्रभावित भएको छ । बिममा बिद्युत मर्मत सकिएको छ । बैकल्पिक मुहानबाट खानेपानी आपुर्ति गरिएको छ । मराङमा सडक सँगै केन्द्रीय लाइनको बिद्युत मर्मतलाई निरन्तरता दिइएको छ । मराङखोला लघुजलबिद्युत परियोजनाबाट बिद्युत आपुर्ति गराइएको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...