धौलागिरि खबर

दग्नाममा पहिरोबाट आठ घर बिस्थापित

बेनी,। पहिरोका कारण म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नामा आठ परिवार बिस्थापित भएका छन् ।

सोमबार रातीको बर्षापछि पहिरो बग्न थालेपछि दग्नामको गैरीगाउँ, टाय र माझीगाउँका आठ घर परिवार बिस्थापित भएका हुन् । पहिरोका कारण जमिन धाँजा फाटेर चिराचिरा पर्ने, घरका पर्खाल चर्कने र भत्किन थालेका छन् ।

जोखिममा रहेका घरपरिवारलाई मंगलबार सुरक्षित ठाउँमा सारिएको जनता माबि दग्नामका प्रअ गुन पुनले जानकारी दिनुभयो । स्थानीयबासी, युवा क्लव, आमा समूहले घरभित्र रहेका सामान सार्न सहयोग गरेका थिए ।

बिस्थापित हुनेमा गैरीगाउका एकबहादुर गर्बुजा, छबहादुर गर्बुजा, रमाया गर्बुजा र रेशम गर्बुजाका परिवार छन् । टोयका मबहादुर गर्बुजा, तुलबहादुर पुन, माझिगाउका तुलबहादुर बिक र गंगा गर्बुजाको परिवार पनि बिस्थापित भएका छन् ।

भिरालो पाखोमा अबस्थित दग्नाम गाउँको मुनी र माथि दर्जनौ ठाउँमा जमिन चर्कीनुका साथै खेतबारीका गह भत्किएका छन् । केही दिनअघि दग्नामकै राम्कुलीबोटमा गएको पहिरोबाट दश घर जोखिममा परेका छन् ।

कृष्ण गर्बुजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्मर गर्बुजा, खड्ग गर्बुजा, खबिर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिंह गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेका छन् । दग्नाम देखि दर्मीजा तर्फ जाने सडक पहिरोले पुरेको छ । आठ वटा बिद्युतका पोलमा क्षति पुगेको छ ।

देउमान गर्बुजाको गोठमा ढुंगामाटो थुप्रिएको छ । यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजा लगायतको खेतबारी पुरेको छ । प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरि जोखिममा रहेकाको ब्यवस्थापन, पहिरोको थप जोखिमको अध्ययनसँगै नियन्त्रणको पहल गरिने गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
Loading...