बेनी। कोरोना भाइरसको महामारीको जोखिमलाई बेवास्ता गर्दै मेला आयोजना गर्ने म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमका तीन युवालाई स्थानीय प्रशासनले मंगलबार कारबाही गरेको छ ।
कोरोना रोकथामका लागि सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य सुरक्षाको मापदण्ड विपरित भदौ २६ देखि २८ गतेसम्म भिडभाड हुने गरि बिद्यालय परिसरमा मेला सञ्चालन गर्ने ताकमका सुमन केसी, किरन गुरुङ र दिनेश केसीलाई संक्रामक रोग ऐन २०२० अन्तरगत कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनिहरुलाई एक सय रुपैया जरिवाना र तीन दिन कैद सजाय तोकिएकोमा कैद वापत प्रति दिन तीन सय रुपैयाँ सहित एकमुष्ट जनही एक हजार रुपैयाँका दरले कारबाही गरेर छाडिएको प्रशासनले जनाएको छ ।
मेला सञ्चालन गरेको तस्बिर, भिडियो सँग समाचार सार्बजनिक भएपछि प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएर कारबाहीका लागि प्रशासनमा बुझाएको थियो । उनिहरुले गल्ति गरेको स्विकार गर्दै आगामी दिनमा भिडभाड हुन नदिने र कोरोना विरुद्ध सचेतना फैलाउन स्वयमसेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।
ताकम माविको परिसरमा करिब दुई सय जना भन्दा बढी मानिसहरु भेला गरेर तीन दिन वडा भित्रका बस्ति स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेका थिए । उनिहरुले असंगठित हिसाबले ब्यक्तिगत रुपमा मेला आयोजना गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सरकारको नियम नमान्ने क्लबको दर्ता निलम्बन गर्न सकिने कानुनी ब्यवस्था भएको बताउनुभयो । संस्थागत हिसाबले कोरोना महामारीको समयमा मेला आयोजना गर्ने क्लवको निलम्बन गर्दा त्यसका पदाधीकारीको ब्यवसायिक, पेशागत र वैदेशिक रोजगारिमा असर पर्न सक्छ ।
म्याग्दीमा हालसम्म एक जना प्रहरी सहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४८ जना निको भएर घर गएका छन् । भदौ १ गते कोरोना पुष्टि भएका पोखराबाट आएका एक जना प्रहरी जवानको आइसोलेशनमा उपचार भैरहेको छ ।
कोरोना फैलिन नदिन सरकारले भेला सम्मेलन, मेला, जात्रा, भोज, भतेर गर्न र मन्दिर लगायत धार्मिक स्थलमा पुजाआजाका लागि बन्द गरेको छ । अन्तर जिल्ला आवत जावतमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले पटक पटक सूचना जारी गरिरहेको छ ।