धौलागिरि खबर

महामारीको बेवास्ता गर्दै मेला सञ्चालन

बेनी,। समुदाय स्तरमा तिब्र रुपमा कोरोना (भाइरस) फैलिरहेको अवस्थामा म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा मेला सञ्चालन गरेका छन् ।

कोरोना फैलिन नदिन सरकारले भेला सम्मेलन, मेला, जात्रा, भोज, भतेर गर्न र मन्दिर लगायत धार्मिक स्थलमा पुजाआजाका लागि बन्द गरेको छ । अन्तर जिल्ला आवत जावतमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले पटक पटक सूचना जारी गरिरहेको छ ।

संक्रमण रोकथामका लागि सहयोग गर्नुपर्ने सामाजिक संघ संस्थाहरुले सामान्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना समेत नगरि प्रहरी र स्थानीय तहको अनुरोधलाई अटेर गर्दै मेला सञ्चालन गरेर कानुनी राज्यलाई चुनौति दिएका हुन् ।

Rara Auto Mobiels

साबिक ताकम गाबिसको वडा न. ५ का युवाहरुले भदौ २६ गते शुक्रबार देखि २८ गते आइतबारसम्म तीन दिन वडा भित्रका बस्ति स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

ताकम माविको परिसरमा करिब दुई सय जना भन्दा बढी मानिसहरु भेला भएर मेला र भलिबल प्रतियोगिता सञ्चालन गरेका थिए । उनहरुले मास्क लगाएका र भौतिक दुरि कायम गरेका थिएनन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले तयार पारेको मेला महोत्सव सम्बन्धी कार्यबिधीमा विद्यालय परिसरमा मेला महोत्सब सञ्चालन गर्न नपाउने बुदा उल्लेख छ ।

प्रतियोगिता आयोजना गरेको भनिएको धवलागिरी जनयुवा क्लव ताकमका अध्यक्ष अनिष भण्डारीले क्लवले नभएर टोल स्तरका बाल क्लवले सञ्चालन गरेको प्रतिक्रिया दिनुभयो । ‘हाम्रो क्लवले आयोजना गरेको होइन,’ भण्डारीले भन्नुभयो ‘टोल स्तरीय केटाहरुले खै कसरी चलाए थाहा भएन ।’

सोमबार मात्र मेला सञ्चालन भएको तस्बिर र भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । ताकम प्रहरी चौकीले मेला नचलाउन भन्दा भन्दै अटेर गरेका प्रतिक्रिया दिएका छन् । गाउपालिकाका जनप्रतिनिधिहरुले आफूहरुले पनि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर देखेपछि मात्र थाहा पाएको बताएका छन् ।

मेला सञ्चालन भएको बिषयमा जिल्लामा जानकारी नगराउनुले वडाका जनप्रतिनिधि, ताकम प्रहरी चौकी, स्थानीय अगुवाहरुको पनि मिलेमतो भएको हुन सक्ने शंकामा बल पुगेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मेला सकिएपछि मात्र सूचना पाएको बताउनुभयो ।
मेला आयोजना गर्ने सबैलाई नियन्त्रणमा लिएर संक्रामक रोक अन्तरगत कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रजिअ अधिकारीले बताउनुभयो । ‘सरकारको नियम नमान्ने क्लबको दर्ता देखि त्यसमा आयोजकका पासपोर्ट निलम्बन गर्ने सम्मको कारबाही गर्न सकिन्छ,’ उहाले भन्नुभयो । यसअघि यही महिनामै धवलागिरी गाउपालिकाकै वडा न. ७ मा पर्ने शिवाङ र मालिका गाउपालिका–५ देविस्थानमा पनि मेला सञ्चालन भएको बताइएको छ ।

म्याग्दीमा हालसम्म एक जना प्रहरी सहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४८ जना निको भएर घर गएका छन् । भदौ १ गते कोरोना पुष्टि भएका पोखराबाट आएका एक जना प्रहरी जवानको आइसोलेशनमा उपचार भैरहेको छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...